शनिबार, बैशाख ८, २०८१

लोप हुँदै कालानिमक धान

kalanamak rice

कपिलवस्तु, १३ मङ्सिर । कपिलवस्तुमा पछिल्लो समय मीठो बास्ना र स्वादिलो चामलका रूपमा लिइने कालानमक धानको जात लोप हुने अवस्थामा पुगेको छ ।
नेपालको तराईका केही जिल्लामा मात्र पाइने छुट्टै पहिचान बोकेको कालानिमक धानको खेती कम हुन थालेपछि यो लोप हुन थालेको हो ।
जिल्लामा कालानिमक धानको उत्पादन अहिले निकै कम भएको छ । पछिल्ला वर्षमा कपिलवस्तुमा मात्रै पाँच हजार हेक्टरमा कालानिमक धान लगाइन्थ्यो । अहिले भने ५०० हेक्टरमा मात्र यसको खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । स्थानीय जातको बहुमूल्य चामल मानिने कालानिमकको मूल्य बजारमा अन्य चामलभन्दा दोब्बर महँगो छ । ठूलाबडा तथा जमिन्दारको प्रमुख रोजाइ तथा पाहुनाको स्वागतको राम्रो परिकारका रूपमा लिइने भएकाले बजारमा कालानिमकको माग अत्यधिक छ ।
तर कम उत्पादन, रोग तथा किराको प्रकोप तथा ढिलो तयार हुनेहँुदा यसको खेती कमैले गर्ने गरेका छन् ।
स्थानीय जातको यो धानलाई परम्परागत रूपमा नै कृषकले लगाउँदै आएको र यसको वैज्ञानिक परीक्षणसमेत नगरिँदा कालानिमक धान लोप हुने अवस्थामा पुगेको छ ।
कम खर्चमा बढी उत्पादन हुने हाइब्रीड धानखेतीप्रति किसानको बढ्दो आकर्षणका कारणसमेत कालानिमक धान विस्थापित हँुदै गएको किसानको भनाइ छ ।
सिचाइँको व्यवस्था भएको खेतमा मात्र लाउन सकिने, धान फल्न बढी समय लाग्ने, कम उत्पादन हुनेलगायतका समस्याले गर्दा अहिले किसानले यो धान लाउन छाडेको कृषि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७१