शनिबार, बैशाख ८, २०८१

सामूहिक अदुवाखेती गर्दै किसान

ginger

गोरखाबजार, १३ मङ्सिर । गोरखाको बुँकोट–४ बकनीस्वाँराका स्थानीय बासिन्दाले सामूहिक रूपमा अदुवाखेती गर्दै आएका छन् । २७ घरधुरीका स्थानीय बासिन्दा मिलेर पाँच रोपनी क्षेत्रफलमा अदुवाखेती गरिएको हो ।
शुभेच्छा बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडमार्फत उनीहरूले व्यावसायिक रूपमा अदुवाखेती गरेको स्थानीय बासिन्दा शुक्र श्रेष्ठले जानकारी दिएका छन्
“खेर गएको पाखो बारीमा अदुवा लगाएका छौँ” उहाँले भन्नुभयो, “मकै, धानखेती नहुने जग्गा छनोट गरेर अदुवाखेती थालेका हाँै ।” यस वर्ष गाउँलेले करिब चार क्विन्टल अदुवाखेती गरेका छन् । आउँदो मङ्सिरमा अदुवा उत्पादन हुने श्रेष्ठको भनाइ छ । अदुवाले राम्रो भाउ पाउने किसानको विश्वास छ ।
सामूहिक अदुवाखेती प्रवद्र्धनका लागि तुलसी मेहर युनेस्को क्लब गोरखाले प्राविधिक सहयोग गर्दै आएको क्लबका संयोजक हेमराज ढकालले बताउनुभयो । अदुवामा लाग्ने विभिन्न प्रकारका रोग, किराबाट बचाउन क्लबले किसानलाई आवश्यक सल्लाहका साथै प्रविधिबारे पनि जानकारी दिँदै आएको ढकालले जानकारी दिनुभयो । यस वर्ष भने किसानले प्रतिघरधुरी रु एक हजार ७०० को दरले रकम उठाएर अदुवाको बीउ किनेका थिए । “रु दुई लाख ४५ हजारको अदुवाको बीउखेती गरेका छौँ” उहाँले भन्नुभयो, “आवश्यक मात्रामा मलजल, गोडमेल र सिँचाइ पुगेकाले यस वर्ष उत्पादन बढ्छ ।” किसानले अदुवाको मूल्य गत वर्षभन्दा महँगो हुने अनुमान गरेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७१