शुक्रबार, चैत्र १६, २०८०

बेनी–नाङ्गी कृषि सडक सञ्चालनमा आएपछि करिब चार हजार जना लाभान्वित

बेनी (म्याग्दी), १० मङ्सिर । सदरमुकाम बेनीदेखि पर्वत जिल्लाको माझफाँट र लेकफाँट हुँदै म्याग्दीको नाङ्गी गाउँ जोड्ने कृषि सडक सञ्चालनमा आएपछि उत्तरी म्याग्दीका ६ गाउँका चार हजारभन्दा बढी व्यक्ति लाभान्वित हुनुका साथै स्थानीय कृषि उपज र पशुको बजारीकरणमा सुविधा पुगेको छ । तेत्तीस किलोमिटर लामो सो सडकमा नियमित सवारीसाधन सञ्चालन हुन थालेका छन् । सडकबाट पर्वतको माझफाँट, लेकफाँट, शालिजा, बाँसखर्क तथा म्याग्दीका नाङ्गी, राम्चे, काफलडाँडा, हिस्तान, औला र रिम गाउँका बासिन्दा लाभान्वित भएका हुन् । पर्वत र म्याग्दीको सिमानामा पर्ने वनमडेदेखि नाङ्गी हुँदै छहरेखोलासम्म जोड्ने नौ किलोमिटर सडक सञ्चालनमा आएपछि स्थानीय बासिन्दा उत्साहित भएको हिमाञ्चल उच्चमावि नाङ्गीका शिक्षक कृष्ण पुनले बताउनुभयो ।
समाजसेवी महावीर पुनले नाङ्गी र आसपासका क्षेत्रमा सूचना, सञ्चार, शिक्षा, स्वास्थ्य, कृषि लगायतका पक्षमा गरेको योगदानका बारेमा अध्ययन अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि सो सडकले सुविधा पुगेको छ । सडक निर्माण गर्न राम्चे गाविसबाट रु १५ लाख र जिविस म्याग्दीबाट रु ६ लाख ५० हजारको आर्थिक सहयोग प्राप्त भएको जानकारी वनमडे–नाङ्गी–राम्चे कृषि सडक निर्माण समितिका सचिव रमन पुनले दिनुभयो । सो सडक निर्माण गर्न नाङ्गी, राम्चे र काफलडाँडा गाउँका बासिन्दाले क्रमशः रु ६ लाख ५० हजार, रु चार लाख ९० हजार र रु चार लाख ८५ हजार लगानी गरेका छन् । स्थानीयवासीले गाउँमा मोटरबाटो पु¥याउन चन्दा सङ्कलन गरेका हुन् । सचिव पुनका अनुसार सडकमा दैनिक चारवटा गाडी ओहोरदोहोर गर्ने गरेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७१