बिहिबार, चैत्र १५, २०८०

डढुवा रोग नलाग्ने आलु विकसित

ललितपुर, ९ मङ्सिर । राष्ट्रिय आलु बाली अनुसन्धान कार्यालयले पानीभित्र आलु फलाउन सक्ने नयाँ परीक्षणको सफलतासँगै डढुवा रोग नलाग्ने आलु विकसित गरेको छ । राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम खुमलटारले आज आलुबालीको डढुवा रोग र अनुसन्धानको उपलब्धि विषयक अन्तक्र्रियामा पानीभित्र आलु फलाउन सक्ने नयाँ परीक्षणसँगै डढुवा रोग नलाग्ने आलुको बीउ विकास गरेको बताए ।

अनुसन्धान कार्यक्रमका संयोजक डा वुद्धिप्रकाश शर्माका अनुसार हरेक वर्ष कृषकलाई आलुमा लागेको डढुवा रोगले सताउने गरेकोमा डढुवा रोगबाट बच्नका लागि डढुवा नलाग्ने आलुको बीउ विकास गरेको हो । शर्माका अनुसार डढुवा नलाग्ने र पानीमा फलाउन सक्ने आलु विकास गरिसकेको भए पनि परीक्षणपछि मात्र कृषकसम्म पठाउने कार्यक्रम रहेको छ ।
डढुवा रोगको नियन्त्रणले किसानलाई फाइदा पुग्ने भए पनि पानीभित्र फलाउने आलु लगाउनका लागि सबै कृषकका लागि सम्भव हुनेछैन, यो प्रविधि अलि महँगो छ । अहिले चिसोको मौसम भएकाले आलुमा बढीमात्रामा डढुवा रोग लाग्ने गरेको छ । डढुवा रोगबाट आलुलाई बचाउनका लागि बादल लाग्नेबित्तिकै आलुको बिरुवामा औषधि राख्नुपर्ने आलु विज्ञले सल्लाह दिएका छन् ।

प्रकाशित मिति: मङ्लबार, मंसिर ९, २०७१