शुक्रबार, चैत्र १६, २०८०

मूल्य घट्दा कृषक मर्कामा

broilerचितवन, ३ मङ्सिर । विगत चार महिनायता ब्रोइलर कुखुराको मासुको मूल्य ओरालो लागेपछि कृषक नराम्रो गरी प्रभावित भएका छन् ।

दाना, चल्ला, औषधि, कामदार लगायतको मूल्य आकासिँदै जाँदा आफ्नो उत्पादन भने घटेपछि कैयाँै कृषक यो पेसाबाटै विस्थापित हुने अवस्थामा पुगेका छन् ।
प्रतिकिलो कुखुरा उत्पादनका लागि रु १७५ खर्च हुनेमा अहिले जिउँदो कुखुराको मूल्य रु ११५ देखि १३० सम्ममात्र छ । कृषकले रु ५० देखि ६० सम्म प्रतिकिलो नोक्सान व्यहोर्दै आएको जनाएका छन् ।
पूर्वी चितवनको पिठुवामा छ हजार कुखुरा पाल्दै आउनुभएका बद्री खनालले विगत लामो समयदेखि मूल्य ओरालो लागेपछि ठूलो नोक्सान व्यहोरेको बताउँछन् । पन्ध्र बीस दिनदेखि खोरमा कुखुरा हाल्न नसकेको बताउँदै उनले आधाभन्दा बढी ब्रोइलर कुखुरापालक कृषक विस्थापित भएको बताए ।साना किसानले ब्रोइलर कुखुरा बढी पाल्ने गरेकामा एकोहोरो मूल्यमा कमी आएपछि धेरैको अवस्था बिजोग बनेको खनालले बताए । ब्रोइलर कुखुरा ३८ देखि ४२ दिनमा खान योग्य हुन्छ ।
त्यसपछि पाल्दा दाना खर्च भए पनि आम्दानी नबढ्ने व्यवसायी बताउँछन् । भरतपुरको कैलाशनगरमा सात हजार ५०० कुखुरा पाल्दै आउनुभएका चन्द्रप्रसाद सिग्देल एकै वर्षमा २५ लाखभन्दा बढी नोक्सान भएपछि दोमनमा परेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७१