बुधबार, बैशाख १२, २०८१

हिउँले पर्न थालेपछि भेडी गोठ बेसीतिर झारिदै

गोरखाबजार, २६ कात्तिक । गोरखाको उत्तरी गाविसका विभिन्न खर्कमा रहेका भेडी गोठ हिउँद लागेसँगै बेसी झार्न थालिएको छ । हिउँ पर्न थालेपछि चिसो बढेको र घाँसे भूमि हिउँले ढाकिएपछि भेडालाई बेसी झार्न थालिएको हो । उत्तरी सात गाविसका विभिन्न खर्कमा चर्दैै आएका भेडालाई गुम्दा, लाप्राक, बारपाक, भच्चेक लगायतका ठाउँमा झार्न थालिएको भेडा पाल्दै आएका किसान लोप्साङ गुरुङले जानकारी दिए । “लेकतिर हिउँ परेपछि घाँस पुरियो”–लोप्साङले भने–“चिसो बढेपछि भेडा र गोठाला दुवैलाई गाह्रो पर्छ । त्यसैले बेसी झरेका हौँ ।” सिर्दिवास क्षेत्रमा चराउँदै आएका भेडा सिरानडाँडा, नम्की, हंरपुर क्षेत्रमा झारेको धर्के गुरुङले बताए ।
दुर्गम गाविसबाट भच्चेकमा मात्रै चार हजारभन्दा बढी भेडा झारिएको भन्दै गुरुङले भने–“‘नौ दिन हिँडेर भेडा र हामी भच्चेक आइपुगेका हौँ ।” भेडालाई लमजुङसम्म पनि लैजाने भेडाको रेखदेख गर्दै आएका गोठालाले बताएका छन् । चिसोबाट जोगाउन बेसी झारेको समयमा भेडाको बिक्री हुने र मनग्य आम्दानी हुने गुरुङको भनाइ छ । एउटै भेडालाई रु १५ हजारसम्म बिक्री हुने गोठालाले बताएका छन् । भेडालाई मासु र ऊन प्रयोजनका लागि मानिसले महँगो मूल्य तिरेर किन्ने गरेका छन् । भेडाभन्दा साँढे (भाले)को मूल्य बढी पर्ने उनीहरुको भनाइ छ । भेडा गोठालालाई खानेबस्नेको कुनै चिन्ता हुँदैन । जसको बारीमा भेडा चराउने हो त्यो बारी धनीले गोठालालाई बिहान–बेलुकी भातको व्यवस्था गरिदिन्छन् । भेडा गोठालाले भने भेडाको मल जग्गाधनीलाई दिने चलन चल्दै आएको छ । भच्चेक क्षेत्रमा हिउँदमा १६ हजार वटा भेडा चरनका लागि लेकबाट झारिन्छ । -कृसा

प्रकाशित मिति: बुधबार, कार्तिक २६, २०७१