बुधबार, बैशाख १२, २०८१

म्याग्दीमा पाँच प्रतिशतले धान उत्पादन वृद्धि

म्याग्दी, २४ कात्तिक । पहाडी जिल्ला म्याग्दीमा धान उत्पादनमा पाँच प्रतिशतले वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार, यो वर्ष जिल्लामा १२ हजार ६८४ मेट्रिकटन धान उत्पादन भएको बताइएको छ । गत वर्ष १२ हजार ६० मेट्रिकटन धान उत्पादन भएकामा यो वर्ष करिब पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाको तीन हजार ८९५ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँदै आएको छ । धान रोप्ने समयदेखि पाक्ने समयसम्म त्यसका लागि आवश्यक पर्ने वर्षा नियमित भएको र किसानले पनि रोपाइँ, गोडमेल, उपचारलगायतका गतिविधि समयमै गरेकाले पनि धानको उत्पादन बढेको अधिकृत श्रेष्ठले बताउनुभयो ।
यहाँ विशेषगरी गुडुरा, जेठोबुढो, मार्सी, दर्मली, घारखोले, गौरी, खुमल १०, खुमल ४, माछापुच्छ«े ३, छुमरुङ,लगायतका विभिन्न जातका धान रोप्ने गरिएको छ । केही क्षेत्रमा हावाहुरी र असिनाले सामान्य क्षति पु¥याए पनि अधिकांश क्षेत्रमा धान उत्पादन राम्रो रहेको पाइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा कृषकले धान भित्र्याइसकेका छन् भने तल्लो क्षेत्रका कृषक धान भित्र्याउन लागिपरेका छन् । जिल्लाको बेनी नगरपालिकासहित ३५ गाविसमध्ये उच्च भेगमा रहेका केही गाविसमा बाहेक प्रायः सबै गाविसको तल्लो क्षेत्रमा विभिन्न जातको धानखेती हुने गरेको छ ।
विशेषगरी जिल्लाको ज्यामरुकोट, रत्नेचौर, सिंगा, बाबियाचौर, दरबाङ, ताकम, अर्मन, घतान, पाप्लेखेत, पुलाचौर, राखुपिप्ले, मौवाफाँट, भगवतीलगायतका क्षेत्रहरू धान उत्पादनको पकेट क्षेत्र मानिन्छ । विगतका वर्षमा किसान आफँैले घरमा पुस्तौँदेखि राख्दै आएको बीउ रोप्ने गरेको भए पनि केही वर्षदेखि कृषि कार्यालयले माटो र उचाइअनुसार विभिन्न उन्नत जातको धानको बीउ रोप्न सिफारिस गर्दै आइरहेको छ ।

प्रकाशित मिति: सोमवार, कार्तिक २४, २०७१