बिहिबार, बैशाख १३, २०८१

कृषि विकास बैंक किसान मारा भएको आरोप

agricultur bankचितवन, २२ कार्तिक । कृषि विकास बैंक किसान र कृषि क्षेत्रको हितमा भन्दा पनि अरु नै क्षेत्रप्रति लक्षित भएकोले कृषि विकास बैंक किसान मारा बैंक भएको आरोप व्यवसायिक दुग्ध उत्पादक कृषक समाजका अध्यक्ष आनन्द न्यूरेले लगाएका छन् ।
कृषि पत्रकार समाजको संयोजकत्वमा कृषि क्षेत्रको विकास र समस्याहरुको बारेमा अध्ययन गर्न चितवन पुगेका कृषि पत्रकारहरुसँगको छलफल कार्यक्रममा अध्यक्ष न्यूरेले सो आरोप लगाएका हुन् । दुग्ध उत्पादनका लागि चितवनमा मात्र करीव २०० भन्दा बढी व्यवसायिक फार्महरु सञ्चालनमा रहेको र दैनिक ५० हजार लिटर दूध उत्पादन गर्दै आईरहेको समेत बताए ।
५० हजार लिटर दूध उत्पादन गरेर दूधका लागि आत्मनिर्भरतातिर अगाडि बढिरहेका किसानहरुलाई प्रोत्साहन गर्न ऋण लिन पुगेका किसानहरुलाई कृषि विकास वैंकले हतोत्साह गर्ने गरेको समेत उनको आरोप थियो । किसानलाई ऋण नदिने र कृषि क्षेत्रमा लगानी नगर्ने हो भने वैंकको नाम फेर्न सुझाव दिँदै अध्यक्ष न्यूरेले बाणिज्य वैंकले जस्तै व्यवहार गर्ने हो भने कृषिको नाम किन बेच्ने ? उनले प्रश्न समेत गरेका थिए । किसानलाई ऋण नदिने तर, जग्गा किन्न र घर बनाउन सहज रुपले ऋण लगानी गर्ने कृषि विकास वैंकले किसानको नाम भजाएर किसान मारा काम गरिरहेकाले राज्यले त्यस्ता वैकले कार्वाही गर्न समेत माग गरेका छन् । कृषि विकास बैंकको किसान मारा शैलीले नेपालको कृषि व्यवसाय धरासयी हुँदै गईरहेको र नेपाल राष्ट्र बैकले समेत कृषि विकास बैकलाई सामन्ती लुट र झुट मच्चाउन छाडा छोडेकाले नेपालको अस्तित्व नै खतरामा पर्दै गईरहेको उनको आरोप थियो । – शिव पाण्डे

प्रकाशित मिति: शनिबार, कार्तिक २२, २०७१