काठमाडौं, २२ कार्तिक । कृषि क्षेत्रको विकास गरेर नै जापान समृद्ध मुलुकका रुपमा स्थापित भएकाले कृषि प्रविधि र कृषि उत्पादन बृद्धिका लागि जापानबाट नेपालले पाठ सिक्नुपर्ने उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले बताएका छन् ।
विगत लामो समयदेखि कृषि क्षेत्रको लागि जापान सरकारले विभिन्न संस्था मार्फत सहयोग गर्दै आईरहेको भएपनि नागरिक स्तरबाट नेपाल र जापानको सम्वन्ध विस्तार गर्ने उदेश्यले गठन गरिएको नेपाल जापान मैत्री समाजको राजधानीमा उद्घाटन गर्दै गौतमले सो कुरा बताएका हुन् ।
सुबिधाबिहीन बालबालिकाका लागि शैक्षिक र सांस्कृतिक क्षेत्रमा कार्य गर्दै आएको आकाफुजी दाईको नेपाल च्याप्टरले विगत ११ बर्षदेखि निरन्तर काम गर्दै आईरहेको भएपनि अव बेरोजगार युवाहरुलाई आधुनिक कृषि व्यवसायमा संलग्न गराउन परामर्श तथा सीप मूलक तालिम केन्द्र स्थापना गर्ने योजना समाजले लिएको छ ।
जापानी समाजसेवी हिरोमी इसिओकाको समन्वयमा स्थापित सो संस्थाले नेपाल तथा जापानका बिशिष्ठ ब्यक्तित्वहरुको सल्लाह तथा परामर्शमा कृषि क्षेत्रको विकास लागि अग्रसर हुँदै वातावरण एवं स्वास्थ्यका क्षेत्रमा पनि काम गर्ने समाजका अध्यक्ष लेखनाथ घिमिरे बताए । सो कार्यक्रममा पूर्बअर्थ मन्त्री शंकर कोइराला, संबिधान सभा सदस्य बिशाल भट्टराई, जापानका संसद सदस्य चरोहो यासुके, नेपालका लागि जापानी राजदूत,लगायत बिशिष्ठ ब्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।
जापानबाट पाठ सिक्न गौतमको आग्रह

Add Comment