शुक्रबार, चैत्र १६, २०८०

फापरखेती पुनः सुरु गरिँदै

गजुरी (धादिङ), २१ कात्तिक । केही वर्षयता लोप हुँदै गएको फापरखेतीलाई दक्षिणी धादिङका किसानले भने प्राथमिकताका साथ खेती गरिरहेका छन् । दक्षिणी धादिङको महादेवस्थान गाविसका किसानले धान, मकै, कोदोलगायतका अन्नबाली उत्पादन नहुने जग्गाहरूमा फापरखेती गरिरहेका छन् । छोटो समयमा उत्पादन दिने र नगदेबालीका रूपमा पनि प्रयोग गर्न सकिने भएकाले दक्षिणी धादिङको विभिन्न गाविसका कृषकले फापरखेती गर्दै आएका हुन् । धादिङको उच्च पहाडी क्षेत्रहरूमा विशेषगरी मीठे, तीते र सेते जातका फापरको खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सहर बजारमा सुगर र युरिक एसिडका रोगी धेरै भएकाले तीते फापरको माग धेरै हुने गरेको अगुवा कृषकले बताएका छन् ।
गाउँघरमा भने फापरको महत्व कम र धेरै जग्गामा थोरैमात्र उत्पादन हुने भएकाले परम्परागत रूपमा हुँदै आएको फापरखेती गाउँवासीले विकल्पका रूपमा अन्य खेती गर्न थालेपछि लोप हुँदै गएको हो । फापर रुखो डाँडापाखा, पानी, मलको अभावमा पनि सजिलै उत्पादन गर्न सकिने किसानले बताएका छन् । फापरलाई विभिन्न औषधिका रूपमा समेत प्रयोग गर्न सकिने जानकारहरू बताउँछन् । प्रोटिनयुक्त फापरको पिठोमा रगतमा कोलेस्ट्रोरल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने र यसको सेवनबाट मोटोपन पनि कम हुने चिकित्सकको भनाइ छ । फापरको महत्व बुझ्न नसक्दा अधिकांश किसानले फापर लगाउन छोडेका थिए ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २१, २०७१