शनिबार, बैशाख ८, २०८१

माछापालन गरेर वार्षिक रु आठ लाख आम्दानी

नवलपरासी, २१ कात्तिक । पाल्ही गाविस–२ का रवीन्द्रकुमार सहानीले माछापालन गरेर वार्षिक रु आठ लाख आम्दानी गर्नुभएको छ । माछापालनका लागि उहाँले सहानी मस्य ह्याचरी कम्पनी सञ्चालन गरी माछापालन गर्दै आउनुभएको छ । “अहिले दुई करोड ६५ लाख मात्र माछाको भुरा उत्पादन गर्न सक्यो” उहाँले भन्नुभयो, गत वर्ष तीन करोड ६४ लाख माछाका भुरा बिक्री भएका थिए । समयमा पानी नपर्दा पोखरीमा पानी जम्मा हुन नपाएकाले यस वर्ष माछाको भुरा कम उत्पादन भएकाले सबै खर्च कटाएर रु पाँच लाख आम्दानी गरेको छु उहाँले भन्नु भयो ।
भैरहवा मत्स्य विकास केन्द्रको सहयोगमा ह्याचरी खेलेपछि माछापालक किसानलाई पनि सहज भएको छ । उहाँले ह्याचरी खोल्नुभन्दा पहिले किसान बाहिर जान्थे । तर, अहिले यो समस्या टरेको छ । उहाँ भन्नुहुन्छ, “यही व्यवसायबाट घरखर्च चलेको छ, आठ जना युवालाई रोजगारी दिएको छु ।” पैसा कमाउन अन्त जानु पर्दैन, उहाँले भन्नुभयो । यहाँ उत्पादन भएको माछा भारतसमेत निर्यात हुन्छ । उहाँले भन्नुभयो “गत वर्षमात्र एक करोड ५० लाख माछाका भुरा भारत निर्यात भएका छन्, यस वर्ष पनि भारतकै किसानले लगेका छन् ।”ह्याचरीका लागि तीन बिगाहा क्षेत्रफलमा १३ वटा भुराका लागि पोखरी बनाएका छन् । चार बिगाहाको उत्पादन पोखरी र १५ कट्ठाको दुई वटा माउ पोखरी रहेका छन् । पोखरीमा कामन, बिगहेट, ग्रास, सिल्भर, नैनी, भ्याकुरलगायत २०० माउ माछा रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २१, २०७१