बुधबार, मंसिर १३, २०८०

जङ्गल हेरेर खेती गर्छन् दुर्गमका किसान

गोरखाबजार, १७ कात्तिक । गोरखाको उत्तरी गाविसमा बसोवास गर्दै आएका स्थानीय किसानले जङ्गल हेरेर खेती गर्दै आएका छन् । वर्षको दुईपटक स्थानीय किसानले भोटेसल्लो जातको जङ्गल हेरेर बारीमा के बीउ छर्ने भन्ने निधो गर्ने छेकम्पारका निमा लामाले जानकारी दिनुभयो । लामाका अनुसार जङ्गल हरियो देखिएका बेला किसानले बारीमा फापर छर्छन् । जङ्गलका पातहरू पहेँलो देखियो भने किसानले बारीमा गहुँ छर्ने लामाको भनाइ छ । “परापूर्वकालदेखि चल्दै आएको नियम अहिले पनि जारी छ” लामाले भन्नुभयो, “चैत, वैशाख र असोज महिनामा किसानले जङ्गल हेरेर बीउ छान्छन् ।” गोरखाको छेकम्पार, चुम्चेत, ल्हो, सामागाउँलगायतका दुर्गम गाउँका स्थानीय किसानले जङ्गलअनुसार खेती गर्दै आएका हुन् । जङ्गल हरियो देखेपछि किसानले आफ्नो बारी खनजोत गर्ने लामाको भनाइ छ । त्यस्तै गोरखाको सामागाउँमा पनि जङ्गलअनुसार खेती गर्ने प्रचलन कायम छ । सामागाउँका किसानले तीते फापर, करु र आलुको खेती गर्छन् । “पुर्खाले चलाएको चलन अझै पनि चल्दै आएको छ” सामागाउँका कर्माछेवाङ लामाले भन्नुभयो, “जङ्गलअनुसार खेती गरियो भने उत्पादन बढ्छ भन्ने किसानको विश्वास छ ।” बाबुबाजेको पालादेखि चल्दै आएको चलन अहिले नियमजस्तै गरी लागू हुँदै आएको उहाँ बताउनुहुन्छ ।
ल्हो गाविसका किसानले पनि जङ्गलअनुसार मकै, करु र आलुखेती गर्छन् । छेवाङ ग्याल्जेन लामाले भन्नुभयो, “जङ्गल हेरेर हाम्रातिर पनि खेती गरिन्छ । यो प्रचलन जोगाइराख्नुपर्छ । पहिलेदेखि चलिआएको प्रचलनलाई भावी पुस्तासम्म बचाइराख्नुपर्छ ।” गोरखाको उत्तरी क्षेत्रमा रहेको भूभागको दुई प्रतिशत क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यस्तै १६ प्रतिशत क्षेत्रफलमा भने जङ्गल रहेको मनास्लु संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्कमा उल्लेख छ । “अधिकांश भूभाग त्यसै खेर गएको छ”, आयोजनाका प्रमुख राजकुमार गुरुङ भन्नुहुन्छ, “खेतीयोग्य भूमि थोरै मात्रामा छ । धेरै भूभागलाई उपयोग गर्न स्थानीयले सकेका छैनन् ।” एक वर्ष लगाएर उब्जेको अन्नले दुई महिनादेखि छ महिनासम्म मात्रै किसानलाई खान पुग्ने आयोजनाले केही समयअघि गरेको अध्ययनले देखाएको छ । जलवायु परिवर्तनले गर्दा चैत, वैशाख महिनामा हरियो देखिनुपर्ने जङ्गल पहेँलोजस्तो देखिँदा किसान बारीमा के जातको खेती गर्ने अन्योलमा परेको मनास्लु क्षेत्र पुगेर फर्केका जलवायु विज्ञको भनाइ छ । विज्ञहरूका अनुसार जलवायु परिवर्तनको असर दुर्गमका जङ्गलमा पनि देखिएको छ । रासस

प्रकाशित मिति: सोमवार, कार्तिक १७, २०७१