बिहिबार, चैत्र १५, २०८०

ओखर बेच्न व्यापारीलाई भ्याइनभ्याइ, किसानले मूल्य पाएनन्

Walnuts

धनगढी,  कार्तिक । तिहारको टिकाका दिन दिदीबहिनीहरुले दाजुभाईलाई टिका लगाईदिने बेलामा ओखरलाई पूजा गरेर यमराजको बाटो छेक्ने मान्यतामात्र होइन ओखर नभै टिकाको मान्यता नहुने भएको परम्पराका कारण ओखरको माग सर्वत्र बढ्दै गईरहेको छ ।
त्यसैले होला ओखर उत्पादनका लागि प्रख्यात मानिएको सुदूरपश्चिमाञ्चल बैतडी जिल्लाको श्रकिोट, देउलेक, हटैरा लगायतका गाविसमा उत्पादित ओखरको माग बढ्दै गएका कारण ओखर बेच्ने व्यापारीहरुलाई भ्याइनभ्याई भएको छ ।
त्यहाँ उत्पादन हुने ओखर धनगढीका अलावा महेन्द्रनगर, अत्तरियालगायतका बजारमा बढी बिक्री हुने गरेको श्रीकोट गाविसकै किसानहरुले बताउछन् । ओखर विक्रीका लागि पनि बिचौलियाका कारण उपभोक्ताले महंगो मूल्यमा खरिद गर्नु परेको छ ।
तिहार पर्वको रौनकतासँगै बैतडी जिल्लाका ओखर व्यापारीलाई ओखर बिक्री गर्न यतिबेला भ्याइनभ्याइ भएको छ ।
बैतडीको श्रीकोट गाविसका व्यापारी मोहनप्रसाद जोशीले गएको पाँच दिनमा धनगढी बजारमा चार क्विन्टल ओखर बिक्री गरेका छन् । उत्पादित क्षेत्रबाट थोकमा प्रतिक्विन्टल रु २०देखि २५ हजारमा ओखर खरिद गरेर ल्याएका जोशीले धनगढी बजारमा भने प्रतिकिलो रु ४०० देखि ५०० सम्ममा विक्री हुने गरेको बताए । अन्य समयमा भन्दा तिहारका बेला ओखरको माग बढी हुने गरेकाले यसको बिक्री पनि राम्रै हुने गरेको उनको भनाई छ । “पाँच क्विन्टलजति ओखर ल्याएको थिएँ, करिव करिव सकिन लाग्यो उनले भने ।”
हाडे ओखर (दाँतले फुटाउन नसकिने) भन्दा दूधे (दाँतले फुटाउन सकिने) ओखर खेतीतर्फ स्थानीय कृषक आकर्षित भएको बताइएको छ ।
यो जिल्लामा वार्षिक झन्डै ३०० क्विन्टलभन्दा बढी ओखर उत्पादन हुने गरेको व्यापारीहरू बताउछन् । ओखरबाट कमाइ पनि राम्रो हुन थालेपछि स्थानीयवासीले अहिले ओखरको बिरुवा रोप्ने कार्य विस्तार गर्न थालेको यी व्यापारीहरूले बताएका छन् ।

प्रकाशित मिति: शनिबार, कार्तिक ८, २०७१