शनिबार, बैशाख ८, २०८१

 गाईको पूजा हुँदै

gai-tihar

काठमाडौँ, ७ कात्तिक । गाई अर्थात लक्ष्मीको एउटा रुप । गाईबाट अत्यन्तै धेरै फाइदा लिन सकिन्छ । त्यसैले गाईपालन तर्फ किसानहरु आकर्षित हुने गर्दछन् । गाई आम्दानीको महत्वपूर्ण स्रोतका रुपमा लिन सकिन्छ । किसानहरुले गाईपालनबाट दूध, दही ध्यू उत्पादन गरी प्रशस्तै आम्दानी गरिरहेको प्रशस्त उदाहरणहरु छन् ।
व्यवसायिक रुपमा गाईपालन गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको पनि छ । आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन गाई, गोवद्र्धन र गोरुको पूजा आजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मानसमेत गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरिसकेको छ ।
गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक बिश्वास समेत रही आएको छ ।
आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधार वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसी आएको हो ।
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन रही आएको छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक ७, २०७१