शुक्रबार, बैशाख ७, २०८१

भक्तपुरमा तरकारी बजार बनाउने उद्घोष

भक्तपुर, ४ कात्तिक । भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको तरकारी बजार बन्ने भएको छ । उद्योगमन्त्री महेश बस्नेतले नेकपा (एमाले) मध्यपुर १६ वडा कमिटीले आज लोकन्थलीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवम देउसीभैलो कार्यक्रममा भक्तपुरको जगातेस्थित इँटा टायल कारखानामा खाली रहेको ५० रोपनी जग्गा लिएर तरकारी बजार खोल्नेबारे मौखिक सहमति भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जगातेमा ५० रोपनी जग्गामा तरकारी बजार सञ्चालन गर्ने मौखिक सहमति भइसकेको छ, त्यसका लागि अब सरकारले प्रक्रिया अगाडि बढाउँदै छ, जाइकाको लगानीमा तरकारी बजार बन्ने भयो, अब भक्तपुरमा विकासको सुरुआत भयो ।”
भक्तपुरको हनुमन्ते खोला किनारमा हनुमन्ते मार्ग बन्ने भइसकेको र सरकारले प्रक्रिया अगाडि बढाइसकेको बताउँदै उहाँले नेपाल ट्रस्टका नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित ९९ सय रोपनी जग्गामा गङ्गालाल जस्तै मुटु रोग अस्पताल वा सबै जातजातिको सङ्ग्रहालय रहने गरी जातीय सङ्ग्रहालय बनाउनेबारेमा अलफल अगाडि बढाइएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक ४, २०७१