शनिबार, बैशाख ८, २०८१

धानबालीसम्बन्धी सम्झौता

काठमाडौँ, ४ कात्तिक । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धानबाली अनसन्धान केन्द्र (इरी) बीच धानबालीसम्बन्धी अनुसन्धानात्मक गतिविधि सञ्चालनका लागि आज औपचारिक सम्झौता भएको छ । नार्कबाट कार्यकारी निर्देशक डा दिलबहादुर गुरुङ र इरीका उपमहानिर्देशक डा माथेउ मोरेलले कार्ययोजनाको समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । अब नार्क र इरीले क्रमशः नेपाल र विश्वको धानबालीसम्बन्धी अनुसन्धानात्मक गतिविध सञ्चालन गर्ने औपचारिक जिम्वेवारी पाएका छन् । दुई संस्थाबीच सन् २०१४ देखि सन् २०१९ सम्म करिब पाँच वर्षसम्म सम्झौता कायम रहने छ । वर्षेपिच्छे कृषिमा परनिर्भरता बढ्दै गएका कारण सरकारले उत्पादकत्व बढाउन उन्नत जातको धानबालीको सुहाउँदो हावापानी अनुसार बीउबिजन उत्पादन गर्ने नीति लिइएको पाइन्छ ।

सम्झौताअनुसार नेपालमा म्याजिक इन्डिका धानको मूल्याङ्कन, जातीय परीक्षण, जलवायु परिवर्तनको समस्यालाई ठन्डा, डुबान, खडेरी सहने जातको विकास, मरुवा रोगसम्बन्धी परीक्षण गर्ने योजना छ । त्यसैगरी वर्णशङ्कर धानको जातको विकास, सुख्खा जमिनमा धानखेती, धानको आनुवाँशिक क्षमता अभिवृद्धि गर्ने क्षमता, तराईमा धानको बीउ सङ्कलन, अनुगमन पद्धति सर्भेक्षण, विज्ञान क्षमता अभिवृद्धि कृषि अन्वेषणको नयाँ प्रविधिलगायत गतिविधिमा सम्झौताले जोड दिएको छ । पहिला चामल निर्यात गर्ने देश नेपाल हाल प्रतिवर्ष दश लाख मेट्रिक टन चामल आयात गर्छ । यस वर्ष नेपालले भारतसँग करिब १३ अर्बको चामल आयात गरेको तथ्याङ्क छ । सम्झौतापछि दुवै संस्थाका प्रमुखले आगामी २५ वर्षमा राष्ट्रिय धानको उत्पादकत्व प्रतिवर्ष कम्तीमा तीन प्रतिशतका दरले बढाउने लक्ष्यअनुसार काम गर्नुपर्ने बताएका छन् । आजै दुवै संस्थाका प्रमुखले इरीनेपाल डट कम नामक वेभपेजको सुरुआत गरेका छन् ।
नेपालमा कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान छ र समग्र कृषि क्षेत्रको योगदान ३५ प्रतिशत छ । छैटौंँ कृषि गणनाले ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेको भने पनि ८३ प्रतिशत जनता कृषि पेसामा आत्मनिर्भर रहेको देखाएको छ । कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले यस वर्ष पनि नेपालले चामल आयातमा वृद्धि गर्ने राससलाई बताउनुभयो । ंसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश पनि नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्छ । संसारमा कुल जनसङ्ख्याको आधा अर्थात् तीन अर्ब पाँच करोड जनसङ्ख्याको मुख्य खाना नै चामल हो । एसियाली देशमा ९० प्रतिशतभन्दा बढी धानको उत्पादनका साथै खपत समेत हुने गरेको पाइन्छ । सबैभन्दा धेरै धान उत्पादन हुने देश चीन हो । धानबालीको अध्ययन अनुसन्धान गर्ने संस्था इरीको प्रधान कार्यालय फिलिपिन्समा छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कुल गार्हस्थ उत्पादनमा टेवा पुग्छ भने घट्दा आर्थिक स्थिति तल झर्छ । नेपालमा चैतेधान, वर्षेधान र घैया धानको खेती हुँदै आएको छ । नेपालमा वार्षिक रु एक अर्बको धान उत्पादन हुने गरेको तथ्याङ्क कृषि विकास मन्त्रालयले दिएको छ । नेपालमा धानको उत्पादन सरदर प्रतिहेक्टर ३००० केजी हुने गरेको छ । सन् १९६६ देखि सन् २००९ सम्म इरीबाट विकसित विभिन्न धानका जात सदुपयोग गरी विश्वका ७८ देशमा ८६४ धानका जात सिफारिस भएका छन् । नेपालमा पनि सिफारिस भएका ८६ जात सात थरिका मात्र रैथाने धानको खेती हुने गरेको छ । -कृसा

प्रकाशित मिति: मङ्लबार, कार्तिक ४, २०७१