ललितपुर, ४ कात्तिक । नेपालमा २०० प्रजातिको गोदावरी फूल रहेको भएपनि करिब १०० प्रकारका फूल मात्र प्रयोग हुँदै आएको फ्लोरीकल्चर एसोसिएसन नेपालले बताएको छ ।
एसोसिएसनका उपाध्यक्ष कुमार कसैंजु श्रेष्ठका अनुसार १०० मा पनि बढी प्रयोग हुने गोदावरीमा इन्कर्व, रिफ्लेक्स, मिनिएचर र स्पाइडर हुन् । यी फूल सजावटका लागि बढी मात्रामा प्रयोग हुन्छ ।
धेरै रङमा गोदावरी फूल पाइने भएपनि बढी मात्रामा प्रयोगमा आउने भनेको पहेँलो, रातो, सेतो र कालो हुन् । गोदावरीको बढी खपत हुने समय तिहार हो । रोग र किरा नलाग्ने भएकाले पछिल्लो समय गोदावरी फूलप्रति व्यवसायी आकर्षित भएका हुन् । नेपालमा उत्पादन हुने फूलमध्ये पाँच प्रतिशत गोदावरी फूलले धान्ने गरेको छ ।
किरा नलाग्ने, औषधिका रुपमा प्रयोग गर्न सकिने र तिहारमा समेत विशेष रुपमा प्रयोग हुने भएपनि गोदावरी फूलको मात्र खेती गर्ने व्यावसायिक किसान पाउन कठिन रहेको उपाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “अन्य फूलको तुलनामा रोग किराले नसताउने भएकाले यो फूलको खेती गर्न सजिलो छ । रोपेको तीन महिनादेखि यस फूलले आम्दानी दिन थाल्दछ ।”
पछिल्लो समयमा नेपालमा गोदावरी फूलको व्यवसायमा केही सुधार आएको भए पनि विशेष तरिकाबाट गोदावरी फूलमात्र लगाउने व्यवसायी भने अझै पनि भेटिदैनन् । करिब ३० वर्षदेखि सानेपामा फूलखेती गर्दै आउनुभएका निरज महर्जन भन्नुहुन्छ – “गोदावरी फूलको बजार राम्रो रहेको भए पनि गोदावरी फूलमात्र खेती गर्ने गरेको छैन ।”
महर्जनले १०० भन्दा बढी प्रकारका फूल आफ्नो नर्सरीमा उमार्दै आउनुभएको छ । यस व्यवसायबाट उहाँ वार्षिक दश लाख आम्दानी गर्नुहुन्छ । नेपालमा २०५३ सालदेखि व्यावसायिक रुपमा फूलको खेती गर्न सुरु गर्न थालिएको हो ।
नेपालमा अहिले १५ हेक्टर जमिनमा गोदावरी फूलको खेती हुँदै आएको छ ।
एकसय प्रकारका गोदावरी फूल मात्रै प्रचलनमा

Add Comment