बिहिबार, बैशाख १३, २०८१

नेपालमा पशु ढुवानी गर्ने साधन नै छैनन् : महानिर्देशक डा. प्रेमी

Dr= Premi
काठमाडौं, ३० । पशु ढुवानी मापदण्ड भए पनि सो मापदण्डलाई कार्यान्वयन गर्न चुनौति रहेको पशु सेवा विभागका महानिर्देशक डा. केशवप्रसाद प्रेमीले बताउनु भएको छ । सप्ताहव्यापी सातौ विश्व पशुपंक्षी दिवसको सन्दर्भमा पशु उत्पादन निर्देशनालयद्धारा आयोजित अन्र्तक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महानिर्देशक डा.प्रेमीले सो कुरा बताउनु भएको हो ।
विगतमा पशु ओसार पसार गर्दा एउटै ट्रकमा दुई तल्ला बनाएर पशुहरुलाई अत्यन्तै पीडादायी तरीकाले ल्याउने गरेको भएता पनि पशु ढुवानी मापदण्ड कै कारण अहिले त्यस्तो कार्य रोकिएको समेत बताउनु भयो । पशु ओसार पसारका लागि ढुवानी मापदण्डले भने जस्तो ढुवानी गर्ने साधन नै मुलुकमा नरहेकोले केही अप्ठ्रा र चुनौतीहरु रहेको समेत उहाँले खुलासा गर्नु भयो ।
पशु अधिकारका कुरा गर्दा नेपालमा मानवअधिकारलाई समेत असर नपर्ने गरी पशु अधिकारको कुरा गर्नु पर्ने भन्दै उहाँले विगतमा लाखौं कुखुरा बर्डफ्लुका कारण फार्ममा रहेका कुखुरा मार्नु पर्ने वाध्यताजस्ता अवस्थालाई समेत मध्यनजर गर्नु पर्ने बताउनु भयो ।
पशुहरुलाई आवश्यक पर्ने पोष्टिक तत्वहरुलाई समेत मध्यनजर गर्देै पशु सेवा विभागले पचहत्तरै जिल्लामा पशु आहार कार्यक्रम सञ्चालन गरिरहेको बताउनु हुँदै अस्तव्यस्त रहेको पशु बजारहरुलाई व्यवस्थित गर्ने कार्यमा आफूहरु सक्रिय भईरहेको समेत बताउनु भयो ।
कार्यक्रममा बोल्दै पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. विमलकुमार निर्मलले एउटा ट्रकमा ठूला १६ वटा र साना २५ वटा पशु ढुवानी गर्ने मापदण्डले उल्लेख गरेको भएपनि ४२ वटा देखि ६४ वटासम्म पशु ढुवानी गर्ने गरेको आफूहरुले पाएको बताउनु भयो ।
त्यसका लागि किसान र उपभोक्ताहरु भन्दा पनि बजारसम्म ल्याउनका लागि व्यवसाय गर्ने पशु व्यवसायीहरुलाई नै यस बारे जनचेतना अभिबृद्धि गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले गढीमाई मेलामा हुने पशुवधका बारेमा निकै चर्चा भएकाले स्वस्थ पशु र वधस्थललाई व्यवस्थित गर्नका लागि आयोजक समितिसँगको सहकार्यमा गढीमाईको मेलामा भेटेरीनरीयनहरुको टिनै नै सो क्षेत्रमा बस्न लागेको समेत जानकारी गराउनु भयो ।
हाम्रो लागि पशु, पशुका लागि हामी भन्ने मूल नाराका साथ मुलुकभर सप्ताहव्यापी रुपमा विश्व पशुपंक्षी दिवस २०७१ प्रभातफेरि, निवन्ध प्रतियोगिता, अन्र्तक्रिया कार्यक्रम, प्रवचन कार्यक्रम लगायतका जनचेतनामूलक कार्यक्रम सहित असोज २६ गतेदेखि मनाईरहेको पशु उत्पादन निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले जानकारी दिनु भयो ।
सप्ताहव्यापी रुपमा पशु उत्पादन निर्देशनालयले मनाईरहेको सातौं विश्व पशुपंक्षी दिवस २०७१ को सभापन भोली २०७१ असोज १ गते कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वरबाट प्रभातफेरि शुरु गरी पशु सेवा विभागको प्राङ्गण भेला भई अन्र्तक्रिया सहित समापन हुने पशु उत्पादन निर्देशनालयले जनाएको छ । – कमला नेपाल

प्रकाशित मिति: बिहिबार, अशोज ३०, २०७१