सोमवार, बैशाख ३, २०८१

काभ्रेमा फस्टाउँदै बाख्रापालन व्यवसाय

goats

काभ्रपलाञ्चोक , ३० असोज । काभ्रेपलाञ्चोक जिल्लामा व्यावसायिक रूपमा झन्डै रु पाँच करोड हाराहारीको लगानीमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ ।

जिल्ला पशु सेवा कार्यालयले बाख्रापालनका लागि रु ५० हजारदेखि रु एक लाखसम्मको गोठ सुधार कार्यक्रममार्फत अनुदान सहयोग, बजारको सर्वसुलभता, घाँसको बीउ निःशुल्क वितरणलगायतका कारणले बाख्रापालनप्रति व्यवसायी र कृषकको आकर्षण बढेको पशु चिकित्सक मणि सापकोटाले जानकारी दिनुभयो ।
उहाँले जिल्लामा कुल रु पाँच करोडको हाराहारीमा बाख्रापालनमा लगानी भएको र सो लगानीमा झन्डै दुई करोड व्यावसायिक बाख्रा फार्ममा लगानी भएकोसमेत बताउनुभयो । ती फार्ममा २५ देखि २५० सम्म बाख्रा रहेका छन् । जिल्लामा जमुनापारी, खरी र स्थानीय जातका बाख्रापालन भएको छ । पशु चिकित्सक सापकोटाले गत वर्षको तुलनामा लगानी झन्डै २० प्रतिशतले बढेकोसमेत जानकारी दिनुभयो । अहिले बाख्रापालनमा गत वर्षको तुलनामा रु एक करोड ५० लाख बढी लगानी भएको छ ।
थोरैथोरै लगानीमा सबै कृषकले बाख्रापालन गरेको उल्लेख गर्दै उहाँले घाँसखेती गर्ने र बधुवा तरिकाले बाख्रापालन भएको छ भन्नुभयो ।
सापकोटाले व्यावसायिक रूपमा बाख्रापालन गरेका व्यवसायीले बैंक र वित्तीय संस्थाबाट ऋण लिएर सो क्षेत्रमा लगानी गरेको उल्लेख गर्दै जिल्ला बाख्रापालनको क्षेत्रमा आत्मनिर्भर हुने तयारीमा भएको बताउनुभयो ।

प्रकाशित मिति: बिहिबार, अशोज ३०, २०७१