मङ्लबार, बैशाख ४, २०८१

हरेक बर्ष ६५ अर्वको खाद्यान्न आयात

himali
काठमाडौं, २९ असोज । कृषि प्रधानदेशका रुपमा चिनिएको नेपालले हरेक बर्ष ६५ अर्व भन्दा बढीको खाद्यान्न आयात गरिरहेको कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले बताउनु भएको छ ।
हिमाली आयोजनाद्धारा आयोजित राष्ट्रिय पृष्ठपोषण गोष्ठिको आज उद्घाटन गर्दै मन्त्री पराजुलीले सो कुरा बताउनु भएको हो । परम्परागत रुपमा कृषि गरिरहेका किसानहरुको उत्थान गर्ने कार्यमा हिमाली आयोजनाले काम गरिरहेको भन्दै पृष्ठपोषण गोष्ठि अत्यन्तै महत्वपूर्ण भएको बताउनु भएको छ । खाद्य पोषणका लागि कार्य गर्नु पर्ने बेलामा २०४४ पछाडिको अवस्था अत्यन्तै नाजुक भएको भन्दै ४४ साल पछाडिको कृषि क्षेत्रको उत्पादकत्व र वितरणलाई अवलोकन गर्ने हो भने मुलुक परनिर्भरतातर्फ गएको समेत मन्त्री पराजुलीले बताउनु भयो ।
ग्रामिण भेगका जनतालाई गरिवीबाट माथि उठाउन आयोजनाले लक्ष्य अनुरुप काम गर्नका लागि मेहनत गर्नु पर्ने भएकाले त्यसका लागि देखिएका समस्या समाधान गर्ने उपाय समेत पत्ता लगाएन सम्वन्धित निकायहरुलाई आग्रह समेत गर्नु भएको छ ।
निर्वाहमुखि र परम्परागत कृषि खेतीलाई रुपान्तरण गर्न अन्तर्राष्ट्रिय क्षेत्रले गरेका सहयोग नेपालका लागि तत्काल लागू गर्नु ठिक छ कि बेठिक भन्ने तत्काल सोच्नु आवश्यक रहेको समेत उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै कृषि सचिव जयमुकुन्द खनालले विश्व खाद्य दिवस मनाईरहँदा हिमाली आयोजनाले जनतालाई भोकै नराख्ने गरी कार्यक्रम सञ्चालन गर्नतर्फ सोच्नु पर्ने बताउनु भयो । आयोजना सञ्चालन भएको ३ बर्ष वितिसक्दा पनि अपेक्षिकृत रुपमा सफलता हासिल गर्न नसक्नुको कारण कोट्याउँदै ढेड बर्ष निर्देशिका बनाउन नै अल्मलिएका कारण वाँकी रहेको ढेड बर्षमा विशिष्ट रुपमा काम गर्ने मौका आएको खनालले बताउनु भयो ।
हिमाली आयोजनाबाट कृषि व्यवसायका लागि किसानहरुले फाइदा लिनका लागि हिमाली आयोजनाको बारेमा बुझ्न र त्यसबाट पाउने सेवा सुविधा लिनका लागि किसानहरुलाई अग्रसर हुन समेत सचिव खनाले आग्रह गर्नु भएको थियो । कार्यक्रममा आयोजना निर्देशक डा. अमर शाहले हिमाली आयोजनाले हालसम्म गरेका कार्यहरु र आयोाजनाको कार्यान्वयन स्थितिको बारेमा कार्यपत्र समेत पेश गर्नु भएको थियो । भने एशियाली विकास वैकका राष्ट्रिय निर्देशक केनिची योकोयामाले आयोजनाले गरेका कार्यको प्रशंसा गर्नु भएको थियो ।
‘कृषि व्यवसाय विकासद्धारा उत्पादन बृद्धि, नाफा र रोजगारी हिमाली भेगमा समृद्धि’ नारा लिएर सञ्चालन भएको हिमाली आयोजन हिमाली क्ष्ोत्रका १० जिल्लामा सञ्चालन भईरहेको छ ।

प्रकाशित मिति: बुधबार, अशोज २९, २०७१