शुक्रबार, चैत्र १६, २०८०

हिमपातले भित्र्याउन तयारी गरिएको धानबाली खेतमै भिजे

बाबियाचौर (म्याग्दी), २८ असोज । उपल्लो मुस्ताङमा सोमबार रातिदेखि हिमपात भएको छ । भारतको अन्दमान निकोबार समुद्री क्षेत्रमा आएको आँधीको प्रभावका कारण नेपालमा भएको वर्षासँगै उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा हिउँ परेको हो । सोमबार रातिदेखि आज बिहान १० बजेसम्म पनि निरन्तर हिउँ परिरहेको लोमान्थाङबाट स्थानीयवासी पेमा लामाले जानकारी दिनुभयो । बिहानसम्म आधा फिट बाक्लो हिउँ जमेको लामाले बताउनुभयो । उपल्लो मुस्ताङमा फापरलगायतका अन्नबाली भित्र्याउने सिजन सुरु भएकाले हिउँ पर्दा कृषक चिन्तित भएका छन् ।यसैगरी म्याग्दीको माथिल्लो क्षेत्रमा भित्र्याउनका लागि धान काटेर खेतमा सुकाएका कृषक भारी मात्रामा वर्षा भएपछि निराश बनेका छन् । ताकम, बेग, देविस्थान, मुनालगायत गाविसमा भित्र्याउन तयारी गरिएको धानबाली खेतमै भिजेको कृषकले बताएका छन् । बेग गाविसमा लगाइएको ७५ प्रतिशत धानबाली काटेर खेतमा सुकाएको अवस्थामै भिजेको स्थानीय कृषक याम तिलीजाले बताउनुभयो । उहाँका अनुसार मुख्य खाद्यबाली धान र पराल भित्र्याउन नपाउँदै खेतमै भिजेकाले कृषक चिन्तित भएका हुन् । रासस

प्रकाशित मिति: मङ्लबार, अशोज २८, २०७१