बिहिबार, चैत्र १५, २०८०

अलैँचीको मूल्य प्रतिकिलो दुई हजार नाघ्यो

गोरखा बजार, २८ असोज । गोरखामा अलैँची प्रतिकिलो रु दुई हजारमा धमाधम बिक्री भएको छ । गत वर्ष रु एक हजार २०० मा बिक्री भएको अलैँचीलाई किसानले यस वर्ष भाउ बढाएर रु दुई हजार पु¥याएका हुन् । गत वर्षभन्दा उत्पादन घटेको भन्दै किसानले अलैँचीको मूल्य बढाएका हुन् । हंशपुरका किसान कृष्णजङ्ग घिमिरेका अनुसार अलैँचीको बजार मूल्य प्रतिकिलो रु दुई हजार ३०० भए पनि किसानले प्रतिकिलो रु ३०० घाटा खाएर अलैँची बिक्री गर्दै आएका छन् ।
“ठेकेदारहरूले ढुवानी र आवतजावत गर्नुपर्छ भन्ने समस्या देखाएर मूल्यमा बार्गेनिङ गरेपछि प्रतिकिलो रु दुई हजारमा बिक्री गर्ने निधो गरियो” घिमिरेले भन्नुभयोे, “झापादेखिका अलैँची ठेकेदारहरू हंशपुर पुगेका छन् ।” अलैँचीको फूल खेल्ने बेलामा खडेरी परेको र फल लागेपछि असिना पर्दा उत्पादनमा कमी आएको किसानको भनाइ छ । घिमिरेका अनुसार अलैँचीमा रोग, किरा पनि लागेकाले उपचार नपाउँदा उत्पादन घटेको हो । गोरखाको हंशपुर, खरिबोट, थालाजुङ, मुच्चोकलगायतका स्थानीय किसानले व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आएका छन् । गत वर्ष हंशपुर र खरिबोट क्षेत्रबाट मात्रै १५.७ मेट्रिकटन अलैँची बिक्री भएको थियो । “गत वर्ष तीन करोड ५० लाखको अलैँची बेचेका थियौँ”, थालाजुङका किसान धनबहादुर गुरुङले भन्नुभयोे, “यस वर्ष रु पाँच करोड भित्र्याउने किसानको लक्ष्य छ ।” थालाजुङ–२ राम्चेमा सामुदायिक रूपमा पनि अलैँचीखेती गरिएको गुरुङको भनाइ छ । हंशपुर र खरिबोट गाविसका स्थानीय सामुदायिक वनमा पनि अलैँचीखेती गरिएको छ । जिल्ला कृषि विकास कार्यालय गोरखाका कृषि अधिकृत कृष्णप्रसाद पौडेलले रोग, किराले अलैँची उत्पादन घटाएपछि कार्यालयले कसरी रोग, किरा नियन्त्रण गर्ने भन्नेबारे योजना बनाएको बताउनुभयो ।

प्रकाशित मिति: मङ्लबार, अशोज २८, २०७१