आइतवार, जेष्ठ १३, २०८१

वैदेशिक रोजगारका कारण पाँचथरमा खेतीयोग्य जमिन बाँझिदै

पाँचथर, २८ असोज । वैदेशिक रोजगारीका कारण जिल्लाका गाउँमा काम गर्ने युवायुवती नहुँदा खेतीयोग्य जमिन बाँझो रहन थालेको छ । पाखुरामा बल हुने युवायुवती वैदेशिक रोजगारीमा जाने गरेकाले काम गर्ने कोही छैन्, पाँचथर सराङडाँडाका फौद भण्डारीले भन्नुभयो, “गाउँमा काम गर्ने युवायुवती कोही छैन् अलिअलि काम गर्ने युवायुवती पनि बजारतिर बस्ने र वैदेशिक रोजगारीको सिलसिलामा युवायुवती बिदेसिएका कारण खेतीयोग्य जमिन बाँझै छ ।” उहाँले भन्नुभयो, “काम गर्ने युवायुवती नभएपछि बरु अन्न किनेर खान्छन् तर खेतबारीमा केही लगाउन छोडी सके ।”

अहिले वर्षमा तीनपल्ट बाली हुने खेत, बारी बाँझै छ । जसका कारण जिल्लामा उत्पादन हुने खाद्यान्न बालीमा समेत कमी आउने जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथर लिम्बाका समाजसेवी कत्न घिसिङले युवायुवती बिदेसिने क्रम बढ्दै गएपछि गाउँमा मलामी जाने मान्छे पाउने समस्या हुन थालेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय पाँचथरका राहदानी फाँटमा कार्यरत खरिदार राजकुमार न्यौपानेले दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि जाने युवायुवतीको भीड लाग्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– “राहदानी बनाउन आउनेको भीड छ, तर सीप नसकी विदेश जानेहरू करिब ९८ प्रतिशत युवायुवती जाने गरेका छन् ।” करिब दुई प्रतिशतले मात्रै सीप सिकेर विदेश जान राहदानी बनाउने गरेका छन् ।

प्रकाशित मिति: मङ्लबार, अशोज २८, २०७१