आइतवार, फाल्गुन २०, २०८०

यस वर्ष धान उत्पादनमा कमी आउने

rice cutjpg
काठमाडौँ, २७ असोज । यस वर्ष देशका विभिन्न स्थानमा समयमै रोपाइँ हुन नसकेका कारण धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७०÷७१ मा ती सबै वस्तु तथा खाद्य बाली कुल ९५ लाख ६२ हजार ७१८ मेट्रिकटन उत्पादन भएको थियो । त्यसमा धान भने ५० लाख ४७ हजार ४७ मेट्रिकटन उत्पादन भएको थियो नौ लाख मेट्रिकटन चामल आयात गरिएको थियो ।
कृषि विकास मन्त्रालयका अनुसार यसवर्ष करिब ९१ प्रतिशत रोपाइँ भएको छ । समयमै मनसुन सुरु नभएका कारण आवश्यक समयमा वर्षा नभएपछि रोपाइँ पनि समयमा हुन नसकेको र त्यसको गहिरो प्रभाव उत्पादनमा पर्ने देखिन्छ । नेपालमा खाद्यान्नबालीतर्फ धान, मकै, कोदो, गहुँ, जौ र फापरलाई खाद्यबाली भनिन्छ ।
कृषि विकास मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले गएको आर्थिक वर्षमा बर्खे तथा हिउँदे बालीको कुल उत्पादन ९५ लाख ६२ हजार ७१८ मेट्रिकटन उत्पादन भएको जानकारी दिनुभयो ।
चामल, मकै, कोदो, फापर, गहुँ र जौको उत्पादन विभिन्न क्षेत्रमा फरक–फरक हुने र उक्त वस्तुको प्रतिकेजी बराबर क्यालोरी पनि फरक–फरक हुने गर्दछ ।
भौगोलिक क्षेत्रअनुसार भारित अङ्कका आधारमा प्रतिवर्ष प्रतिव्यक्तिका दरले आवश्यकता पर्ने क्यालोरी अनुमानका आधारमा प्राप्त आँकडाको विश्लेषण गर्दा आर्थिक वर्ष २०६८÷६९ मा राष्ट्रियस्तरमा ५० लाख ७७ हजार १३४ मेट्रिकटन आवश्यकता भएकामा ६० लाख २० हजार २९५ मेट्रिकटन उपभोग्य खाद्यान्न उत्पादन भई करिब नौ लाख ४३ हजार १६१ मेट्रिकटन खाद्यान्न बचत भएको थियो ।
त्यसैगरी आर्थिक वर्ष २०६९÷७० मा कुल खाद्यान्नको आवश्यकता ५२ लाख ३९ हजार ८२३ मेट्रिकटन भएकामा ५६ लाख ४८ हजार २६५ मेट्रिकटन उत्पादन भई चार लाख आठ हजार ४४२ मेट्रिकटन बचत भएको थियो ।
प्रत्येक वर्ष हुने जनसङ्ख्या वृद्धिले खाद्यान्नको माग बढ्ने भए पनि उत्पादनमा कमी आएका कारण बचत पनि घट्दो क्रममा रहेको छ ।
कृषि विकास परियोजनाका निर्देशक डा योेगेन्द्र कार्कीले केही वर्ष अघिसम्म विभिन्न खाद्य वस्तु निर्यात गर्ने मुलुक नेपालल अहिले परनिर्भर भई खाद्य सङ्कट व्यहोर्नु पर्ने अवस्था लाजमर्दो भएको यसलाई समयमै समाधान गर्नुपर्नेे बताउनुभयो ।
कृषकलाई समयमै उन्नत बीउबिजन तथा प्रविधिको प्रयोगको पहुँचमा कमी, देशमा विद्यमान बेरोजगारी समस्याले युवा जनशक्ति विदेशिन बाध्य र जमिनको उर्वरा शक्तिमा आएको कमीले गर्दा उत्पादकत्व घट्नु नै राष्ट्रिय उत्पादनमा कमी आउनाका कारण बनेको छ ।
मानिस जतिसुकै सम्पन्नताको उचाइमा पुगे पनि ऊ कुनै न कुनै रुपमा कृषि उत्पादनसँग जोडिएको हुन्छ । उसले खाने कुरा जेजस्तो परिकार भए पनि ती उत्पादन माटोबाट नै उत्पादन हुन्छ ।
नेपालमा करिब १५ लाख १४ हजार हेक्टर जमिनमा धानखेतीका लागि योग्य मानिएको छ । यस वर्ष १४ लाख हेक्टर जमिनमा मात्र धानखेती भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ८६ हजार हेक्टरले कमी हो । झापा, मोरङ र रुपन्देही धानखेतीका लागि अग्रणी स्थानमा रहेको र ती जिल्लाबाट औसतमा तीन लाख मेट्रिकटन धान उत्पादन हुन्छ ।
पहाडी क्षेत्रका १५ जिल्लाबाट ६८ हजार मेट्रिकटन धान उत्पादन हुने गर्दछ । डोल्पामा २७६ मेट्रिकटन, जुम्लामा ५१२ मेट्रिकटन धान उत्पादन हुने गर्दछ ।
कृषि विकास मन्न्त्रालयका कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्याङ्क महाशाखा प्रमुख हेमराज रेग्मीले पहाडी जिल्लाको उत्पादनमा हुने घटबढले राष्ट्रिय उत्पादनमा ठूलो प्रभाव नपार्ने तर तराई क्षेत्रमा हुने घटबढले भने समग्र मुलुकको उत्पादनमा धेरै प्रभाव पार्ने बताउनुभयो । -कृष्णराज गौतम

प्रकाशित मिति: सोमवार, अशोज २७, २०७१