आइतवार, मंसिर २४, २०८०

तरकारीखेतीबाट किसान निरास

मेलम्ची, २७ असोज । सिन्धुपाल्चोक जिल्लाको पश्चिम क्षेत्रका किसान तरकारीखेतीतर्फ अहिले निरास भएका छन् ।

आफूले उत्पादन गरेको तरकारीले उचित बजार मूल्य र नयाँ प्राविधिक ज्ञान नपाउँदा तरकारीखेती गर्ने किसान चिन्तित बनेका हुन् ।
शिखरपुर गाविसका किसान लेखनाथ खतिवडा भन्नुहुन्छ, “आफूले महिनौँ लगाएर उत्पादन गरेको तरकारीले उचित मूल्य नपाउँदा किसानहरू मर्कामा परेका छौँ ।”
उत्पादन गरेको तरकारी विचौलियाहरूले ५० प्रतिशत नाफा खाएर बजारमा बेच्छन् तर किसानलाई भने उत्पादन गर्दा लागेको खर्च उठ्न पनि धौधौ पर्ने गरेको छ ।
उल्टै किसानले व्यापारीको मूल्यमा तरकारी बेच्नुपर्ने बाध्यता परेको छ सोही गाउँका अर्का किसान तुलाराम दाहाल भन्नुहुन्छ, “पहिला त कृषि विकास कार्यालयमा दर्ता भएका तरकारी उत्पादक समूहहरूको सक्रियता नभएका कारण सो मार खेप्नुपरेको हो ।”
मेलम्ची कृषि सेवा केन्द्रले अहिलेसम्म उत्पादनका लागि नयाँ किसिमको ज्ञान र प्रविधि दिन नसक्दा तरकारी उत्पादनमा समेत कमी आउन थालेको छ ।
नयाँ किसिमका बीउबिजन र उत्पादन गर्ने तरिकासम्बन्धी ज्ञान दिन सक्ने प्राविधिक नभएको र ज्ञान दिनका लागि र अवलोकन गर्नसमेत नआएको दाहाल बताउनुहुन्छ ।

प्रकाशित मिति: सोमवार, अशोज २७, २०७१