आइतवार, जेष्ठ १३, २०८१

दर्जनौँ ग्रामीणमा चरम खाद्यान्न सङ्कट

गोकुलेश्वर (दार्चुला), २४ असोज । दार्चुलाको दुहँुलगायतका अधिकांश क्षेत्रमा पर्ने दर्जनभन्दा बढी गाविसका बासिन्दाले लामो समयदेखि चरम खाद्यान्न सङ्कट भोगिरहेका छन् । खाद्यान्न उत्पादन कम हुने सो क्षेत्रमा नेपाल खाद्य संस्थानले वितरण गर्दै आएको खाद्यान्नको भर पर्दै आएका भए पनि यस वर्ष समयमा नै खाद्यान्न ढुवानी नहुँदा स्थानीय बासिन्दाले खाद्य सङ्कट भोगिरहेका हुन् । दसैँलाई लक्षित गरी नेपाल खाद्य संस्थानको अञ्चल कार्यालय कैलालीले दार्चुलाका लागि खाद्यान्न पठाएको जनाए पनि उक्त खाद्यान्न अझै दार्चुलाका सम्बन्धित क्षेत्रमा नपुगेको स्थानीय बासिन्दाको भनाइ छ । जिल्ला सदरमुकाम खलङ्गाबाट खाद्यान्न ढुवानी गर्न बाटोको समस्या भएकाले थप खाद्य सङ्कट सिर्जना भएको हो । यसका साथै पछिल्लो समय भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा तुइन राख्नसमेत नदिएपछि भारतबाट समेत खाद्यान्न ल्याउन नसक्दा भोकमरीको अवस्था सिर्जना भएको दुहुँका स्थानीय बासिन्दाले बताएका छन् । -कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, अशोज २४, २०७१