बिहिबार, फाल्गुन १७, २०८०

उपत्यकामा कृषि उपज उत्पादनका लागि काँठ क्षेत्र महत्वपूर्ण : सभासद् रामेश्वर फुँयाल

ramessss
काठमाडौं, २४ असोज । भू उपयोग नीति देखाउनका लागि मात्र बनाएका कारण नै संसारमा सवैभन्दा उर्वर माटो भएको काठमाडौंमा कृषि उत्पादनको कमी हुन थालेको काठमाडौं क्षेत्र नं ३ सभासद् रामेश्वर फुँयालले बताउनु भएको छ । मुलुकभर एउटै एकीकृत कृषि योजना बनाई माटोको अवस्था अनुरुप कृषि उत्पादन गर्नु पर्ने भन्दै सरकारले बलियो भूउपयोग नीति ल्याउनु पर्नेमा जोड दिनु भयो ।
कृषि अनलाईनसँग कुरा गर्दै फुँयालले विगत ३५ बर्षदेखि आफूले उपत्यकाका काँठ क्षेत्रको माथिल्लो भागलाई बसोबासको क्षेत्र र तल्लो क्षेत्रमा कृषि उपज उत्पादनको क्षेत्रमा विकसित गर्नु पर्ने कुरा उठाउँदै आएको समेत बताउनु भयो । वास्तविक भू उपयोग नीति बन्दै नबनेका कारण कृषि उत्पादनको उर्वर भूमि काठमाडौं सिमेण्टको जंगल बन्दै गईरहेको दुखेसो समेत उहाँले गर्नु भयो । सभासद् फुँयालले कृषि उपज उत्पादनका लागि निश्चित ठाउँ तोकेरै कृषि उत्पादनतिर लाग्नु पर्ने समेत बताउनु भयो । मुलुकमा ठूला ठूला राजनीतिक क्रान्ति भएको भएपनि त्यसले आर्थिक क्रान्ति ल्याउन कृषिमा परिवर्तन गर्न नसकेकोमा दुखसो व्यक्त गर्नु भयो ।
२५ बर्ष अगाडि नेपाल सरकारलको शाखा अधिकृतको जागिर छाडेर कृषिमा लाग्दाको क्षण सम्झँदै बेमौसमे तरकारी खेतीको अवधारणा ल्याउँदा गाली खानु परेको स्मरण गर्दै अहिले काँठ क्षेत्रमा टनेलै टनेल निर्माण गरी तरकारी उत्पादन भईरहेको देख्दा काँठ क्षेत्रमा आफ्नो अवधारणा २५ बर्ष पछि पूरा हुन लागेकोमा खुशी समेत व्यक्त गर्नु भयो । राजनीति गर्नेहरुले कृषि उत्पादनमा संलग्न हुनु पर्ने कुरा आफूले स्व. नेता मदन भण्डारीसँग गर्दा प्रफुल्लित हुनु भएको स्मरण गराउँदै हरेक राजनीति गर्नेहरुले कृषि उत्पादनमा कुनै पनि रुपमा लाग्नु पर्ने समेत उहाँले बताउनु भयो ।
काठमाडौं व्यवसायिक कृषिका लागि अत्यन्तै उत्कृष्ठ ठाउँ भएको उल्लेख गर्दै बैदेशिक रोजगारीबाट फर्केकाहरुले समेत काँठ क्षेत्रमा जग्गा भाडामा लिएर प्रशस्त मात्रामा तरकारी खेती गरिरहेकोले रोजगारीको महत्वपूर्ण पाटो समेत कृषि भएको प्रमाणित गरेको उहाँले बताउनु भयो ।
सभासद् फुँयालले भक्तपुरको तरकारी खेतीको समेत चर्चा गर्दै सरकारले नै जग्गाको उपयोगका बारेमा कडा कानुन ल्याउनु पर्ने र त्यसलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भयो । विचौलियाका कारण किसानले लागत मूल्य समेत नपाउने गरेको र उपभोक्ताले समेत चर्को मूल्यमा कृषि उपज खरिद गर्नु परेको भन्दै विचौलियालाई निरुत्साहित गर्न तर्फ जुट्न किसानहरुलाई आग्रह समेत गर्नुभएको थियो ।
सभासद् फुँयालले विश्वले यतिखेर कृषि उत्पादनमा जोड दिनु पर्ने बेला आएको छ भन्दै खाद्य सुरक्षाका लागि कृषिमा लगानी गर्न आग्रह समेत गर्नु भयो । मानवको जीवन रक्षाका लागि सवैभन्दा महत्वपूर्ण पाटो खाद्यान्न नै भएको हुँदा जस्तो सुकै शक्तिशालाी राष्ट्र भएपनि उसले खाद्यान्नको विकल्प दिन नसक्ने तर्क समेत राख्नु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, अशोज २४, २०७१