आइतवार, मंसिर २४, २०८०

कागजमा मात्र प्रगति देखियो एक गाउँ एक उत्पादन कार्यक्रम

bha
काठमाडौं, २३ असोज । किसानका लागि लक्षित गरि ल्याएको एक गाउँ एक उत्पादन कार्यक्रम मिडिया र कागजमा मात्र सिमित भएको छ । कम काम र बढी चर्चा हुने गरेको एक गाउँ एक उत्पादन कार्यक्रम किसानहरुका पक्षमा नदेखिएको कार्यक्रम सञ्चालन भएका जिल्ला कृषि तथा पशु कार्यालयका कर्मचारीहरुले नै बताउन थालेका छन् ।
३२ जिल्लामा शुरु भएको सो कार्यक्रम सफल हुन नसक्दा पनि थप १० जिल्ला गर्नुले मामाको धन फुपुको श्राद्ध भने जस्तै भएको छ । नेपाल सरकार र नेपाल उद्योग बाणिज्य महासंघ वीच साझेदारीमा सञ्चालन भएको सो कार्यक्रममा उद्योग बाणिज्य महासंघले व्यवस्थापनको जिम्मा लिएको र रकम जति सवै नेपाल सरकारको नै भएको बुझिएको छ । कृषिका क्षेत्रका खासै जानकारी नभएका घरावनियाँ उद्यमीहरु संलग्न रहेको उद्योग बाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले यो कार्यक्रमलाई अत्यन्तै प्रभावकारी भएको प्रचार प्रसार गर्ने गरेको भएपनि त्यो केवल सरकारलाई बुझाउने प्रतिवेदन बाहेक किसानमा प्रगति नभएको समेत भेटिएको छ ।
कृषि विकास मन्त्रालय मातहत सञ्चालन भएका कृषि आयोजनाहरुमा संलग्न किसानहरु सफल देखिएको भएपनि एक गाउँ एक उत्पादन कार्यक्रमबाट लाभान्वित जस्तो मात्र देखिएपनि किसानहरु सफल भएका छैनन् । कृषि उद्यम केन्द्रले अहिलेसम्म पनि एउटा पनि किसानलाई सफल किसानका रुपमा उभ्याउन नसक्नुले यो कार्यक्रम असफल भएको पुष्टि गरेको छ ।
एक गाउँ एक उत्पादन र एक जिल्ला एक उत्पादन सञ्चालनको जिम्मा पाएको कृषि उद्यम केन्द्रकी अध्यक्ष भवानी राणा स्वयं मिडियासँग औपचारिक रुपमा ती कार्यक्रम अत्यन्त सफल भएको भन्ने गर्दछिन् भने अनौपचारिक रुपमा त्यसले खासै उपलब्धि हासिल गर्न नसकेको स्वीकार गर्दछिन् ।
एक गाउँ एक उत्पादन कार्यक्रम असफल कार्यक्रमका रुपमा चर्चा हुन थालेपछि जिल्ला जिल्लाका कृषि कार्यालयका कर्मचारीहरु सो कार्यक्रमका बारेमा बोल्न नै चाहँदैनन् । जिल्ला कृषि कार्यालय गोरखाका एक उच्च अधिकारीले एक गाउँ एक उत्पादन आफ्नो जिल्लामा सञ्चालन भएको भएपनि खासै प्रगति हासिल गर्न नसकेको बताए ।
बाहिर नुनको सोझो गर्नका लागि पनि वाध्यतामा कार्यक्रम सफल भएको अभिव्यक्रि दिनु पर्ने भन्दै उनले यथार्थमा भन्ने हो भने एक गाउँ एक उत्पादन होस् वा एक जिल्ला एक उत्पादन कार्यक्रम किसानका पक्षमा नदेखिएको बताए । -योगेन्द्रप्रताप शाही

प्रकाशित मिति: बिहिबार, अशोज २३, २०७१