भीमदत्तनगर, २३ असोज । नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालयले पठाएको चालम नपुग्दा दार्चुलाको दुहुँ क्षेत्रमा खाद्यान्नको समस्या परेको छ । दुहुँ क्षेत्रमा पर्ने दर्जनभन्दा बढी गाविसका स्थानीय बासिन्दाले लामो समयदेखि खाद्य समस्या भोगिरहेका छन् । खाद्यान्न उत्पादन कम हुने सो क्षेत्रका स्थानीय संस्थानले वितरण गर्दै आएको खाद्यान्नको भर पर्दै आएका भए पनि यो वर्ष समयमा नै खाद्यान्न ढुवानी नहुँदा खाद्य सङ्कट भएको स्थानीयवासीको भनाइ छ । संस्थान क्षेत्रीय कार्यालयका प्रमुख सुरेन्द्रराज विष्टले दसैँभन्दा केही दिनअघि मात्रै उक्त क्षेत्रमा पर्ने सुनसेरा डिपोमा खाद्य पुगेको खबर आएको बताउनुभयो । “असोज १४ गते नै १५/२० बोरा चामल पुग्यो भन्ने खबर आएको थियो”–उहाँले भन्नुभयो–“दार्चुला सदरमुकामबाट खच्चरको सहायताले ढुवानी गर्नुपर्ने भएकाले केही ढिलाइ भएको हो ।”
उहाँले ठेकेदार कम्पनीले दार्चुलाका तीनवटै डिपोका लागि खाद्यान्न ढुवानी गरिरहेको बताउनुभयो । तर स्थानीयवासीले भने संस्थानले दसैँलाई लक्षित गरी पठाएको खाद्यान्न नपुगेको गुनासो गरेका हुन् । जिल्ला सदरमुकाम खलङ्गाबाट खाद्यान्न ढुवानी गर्न बाटोको समस्या भएकाले खाद्यान्न पु¥याउन नसक्दा सङ्कट सिर्जना भएको हो । साथै पछिल्लो समय भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा तुइन राख्नसमेत नदिएका कारण भारतबाट समेत खाद्यान्न ल्याउन नसकिएपछि सो क्षेत्रमा खाद्यान्नको ठूलो समस्या भएको स्थानीयवासीको भनाइ छ । -कृषि साप्ताहिक
Add Comment