आइतवार, फाल्गुन २०, २०८०

गोरखामा पनि कफीखेती

coffe

गोरखा, २३ असोज । गोरखाको धुवाँकोट गाविस–९ रिपथोकमा करोडको लगानीमा कफीखेती सुरु गरिएको छ । चार सय रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा २५ हजार वटा कफीका बिरुवा लगाइएको छ ।

विभिन्न जिल्लाका १३ जना युवाले इको फ्रेण्ड्ली एग्रो अर्गानिक कनसेप्ट प्रालिमार्फत रु एक करोड ६० लाखको लगानीमा कफीखेती थालेका हुन् । प्रालिका सेयर सदस्य सन्तोष पोखरेलका अनुसार रिपथोक क्षेत्रलाई एकीकृत अर्गानिक कृषि फार्म र कृषि अध्ययन केन्द्रका रूपमा विकास गर्ने प्रालिले लक्ष्य राखेको छ ।
“यस क्षेत्रलाई कृषि पर्यटन हब बनाउने सेयर सदस्यको योजना छ”, पोखरेलले भन्नुभयो, “एक वर्षभित्रमा रिसोर्ट पनि तयार हुन्छ ।” स्याङ्जा र पर्वत जिल्लाका निजी फार्ममार्फत कफीको बिरुवा ल्याइएको प्रालिले जनाएको छ ।
प्रतिबिरुवा रु २० तिरेर ल्याएको बिरुवा हुर्कन थालेको पोखरेलले जानकारी दिनुभयो । पहिलो चरणमा रु ५० लाख खर्चेर कफीको बिरुवा ल्याएको भन्दै पोखरेलले जापनिज प्रविधिको प्रयोगबाट अर्गानिक मल तयार गरेर बिरुवामा राखेको बताउनुभयो ।
रिपथोकका स्थानीय २७ जनाको बाँझो पाखो जग्गा वर्षको रु आठ लाख तिर्नेगरी भाडामा लिएर प्रालिले व्यावसायिक कृषि खेती सुरु गरेको हो । तीन वर्षपछि कफीले उत्पादन दिन थाल्ने बताइएको छ ।
नेपालमा उत्पादन भएको कफी दक्षिण कोरिया, जापानलगायतका अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुँदै आएको छ ।

प्रकाशित मिति: बिहिबार, अशोज २३, २०७१