बिहिबार, बैशाख १३, २०८१

उखु किसानको सहयोगमा स्नातकसम्मको अध्यापन

महोत्तरी, २२ असोज । सरकारबाट प्राथमिक तहसम्मको स्वीकृति लिएर स्नातकतहसम्म अध्यापन गराउने राष्ट्रिय उच्च मावि कान्तिबजार जिल्लाकै नमुना विद्यालय सावित भएको छ । जिल्लाको पश्चिमवर्ती गाविस भरतपुर–९ मा अवस्थित यो उच्च माविले स्थानीयस्तरको सहयोगबाट अहिले स्नातक तहसम्मको अध्यापन गराइरहेको छ । स्थापनाकालदेखि नै प्राथमिक तहसम्म पढाइ हँुदै आएको उक्त विद्यालयमा २०५६ सालदेखि निमावि, २०५९ देखि मावि, २०६५ देखि उच्च मावि तथा २०७० सालदेखि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाई स्नातकतहसम्म अध्यापन हँुदै आएको विद्यालयका प्रधानाध्यापक राजकिशोर सिंहले जानकारी दिनुभयो ।
महोत्तरीको रामनगर चिनीमिल तथा सर्लाहीको इन्दुशङ्कर चिनीमिलमा उखु बिक्री गर्ने स्थानीय उखु किसानले पनि यस विद्यालयका सहयोगका निम्ति प्रतिक्विन्टल रु तीनका दरले सहयोग प्रदान गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतन महतोले बताउनुभयो । त्यस्तै यस विद्यालयको भौतिक अवस्था सुधार्न महोत्तरी क्षेत्र नं ६ का सभासद् सीताराम भण्डारीले गत वैशाखमा आफ्नो संसदीय कोषबाट रु पाँच लाख ८६ हजार रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो । आर्थिक स्थिति सबल बनाउने क्रममा यस विद्यालयले एनटिसी एवम् एनसेलका मोबाइल टावर विद्यालयको प्राङ्गणमा राख्न सफल भएकै कारण यसबाट प्रतिमहिना रु छ हजारका दरले आम्दानी हुँदै आएको विद्यालय स्रोतले जनाएको छ ।
यस विद्यालयको नाममा एक बिघा पाँच कट्ठा एक धुर जग्गा मात्र रहेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामचन्द्रसिंह कुशवाहाले जानकारी दिनुभयो । करिब एक हजार ५०० विद्यार्थी अध्ययनरत यस विद्यालयमा हाल नौ जना शिक्षक शिक्षिका कार्यरत छन् ।

प्रकाशित मिति: बुधबार, अशोज २२, २०७१