आइतवार, जेष्ठ १३, २०८१

फलफूलका लागि नेपाल छिमेकी देशसँग परनिर्भर

frut
काठमाडौं, १८ असोज । हरेक बर्ष फलफूल उत्पादनका लागि नेपालमा नै विभिन्न मिसन कार्यक्रम आउने गरेका छन् । सुन्तला, स्याउ, नासपाती, केरा,कटर, आँप लगायतका फलफूल उत्पादनका लागि नेपाल महत्वपूर्ण देशका रुपमा मानिंदै आएको छ । मुस्ताङ्गका स्याउको बजारीकरण गर्न नसकेका कारण स्याउ कुहिन थालेका समाचार हाम्रा लागि निकै चर्चाका विषय हुन सक्छ । सुन्तला होस् वा केराका लागि नेपालका धेरै ठाउँहरु उत्पादन योग्य छन् तैपनि कतिपय ठाउँमा विगतमा उत्पादन गर्ने गरेका भएपनि यतिखेर उत्पादनमा कमी आउन थालेको छ । अनि कतिपय ठाउँमा नाङ्गा डाँडाहरुलाई फलफूल खेती गर्न तम्सिएकाहरु पनि प्रशस्त नै छन् ।
यसका लागि सरकारले चासो दिन नसक्दा फलफूलमा नेपाल अझै पनि भारत वा चीनकै आशामा बस्नुपरेको छ । जव जव चाडबाडहरु आउने गर्दछन् तव फलफूलको माग बढ्दै जान्छ । नेपालमा भित्रिने फलफूल गत बर्षको तुलनामा यो बर्ष ७३ प्रतिशत त भारतबाट नै आयात हुने गरेको देखिएको छ ।
नेपाललाई कृषि प्रधान देश भन्ने गरिएको भएपनि पछिल्लो समयमा कृषि प्रधान देश भन्नु भन्दा पनि कृषक प्रधान देश भन्नु पर्ने अवस्थाका आईसकेको छ । खाद्य सामग्रीहरुको उत्पादनमा कमी आएको मात्र होइन कृषि तर्फ धेरै युवा जनशक्तिहरुको आकर्षण घटेका कारण पनि यो अवस्था आएको हो । नेपाल सरकारले युवा लक्षित गरी कृषि कार्यक्रमहरु सञ्चालन गरेको भएपनि त्यो नेपाली बेरोजगार युवाहरुकोलागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको छ । कृषि विकास मन्त्रालय मातहत कतिपय कृषि आयोजनाहरुले समेत फलफूलका लागि सहयोग गरेपनि आवश्यकता अनुरुप उत्पादन हुन नसक्दा अझै पनि छिमेकी राष्ट्रसँग परनिर्भरतामा रमाउनु परेको छ ।
यतिखेर नेपालमा चाडबाडका कारण फलफूलको माग ह्वात्तै बढेको छ । जसले गर्दा फलफूल विदेशबाट आयात गर्नुको विकल्प देखिएको छैन । राष्ट्र वैकको तथ्याङ्कलाई नै हेर्ने हो भने पनि गत आर्थिक बर्षमा नेपालमा करिव २ अर्व २५ करोड ५५ लाख रुपैयाँको फलफूल आयात गरेको देखिन्छ । जसमा १ अर्व ३० करोड ५१ लाख बराबरको स्याउ नै आयात भएको देखिन्छ । यो तथ्याङ्कले भारतबाट नेपालमा स्याउको परिणाम बढी आयात हुने देखिएको हो । सो तथ्याङ्कमा चीनबाट आयात गरिएको स्याउको गणना गरिएको छैन । चीनबाट पनि करिव यही हाराहारीमा स्याउ भित्रने अनुमान गरिएको छ । खासा हुँदै तातोपानी नाकाबाट दैनिक २÷३ कण्टेनर स्या नेपाल भित्रिने गरेको नाकाका व्यवसायीहरु बताउँछन् ।
नेपाली जनताहरुको खाने आनीबानीमा परिवर्तन आउनु र मांसाहारी विस्तारै शाहाकारी तर्फ परिवर्तन हुने कारण पनि फलफूलको माग बढ्नुको एउटा कारण भएको काठमाडौंको जोरपाटी, नारायणटारमा गौतम फ्रुट्स सेण्टर सञ्चालन गरिरहेका नवराज गौतम बताउँछन् ।
त्यत्तिमात्र नभई आयस्रोतमा भएको बृद्धिसँग नेपालीहरु मात्र होइन ग्राामिण भेगका उपभोक्ताहरु पनि फलफूलप्रति नै आकर्षित भएको उनको तर्क छ । अन्य समय भन्दा चाडबाडमा तेब्वर फलफूल आफूले विक्री गर्ने गरेको र अधिकांश
भारतबाट आयातित हुने समेत गौतमको भनाई छ ।
फलफूलको परनिर्भरता हटाउनका लागि सरकारले जिल्ला जिल्लामा फलफूल उत्पादनका लागि मिसन कार्यक्रम सञ्चालन गरी प्रभावकारी ढंगले अगाडि बढ्ने हो भने केही मात्रामा भएपनि आन्तरिक उत्पादन बृद्धि गरी रोजगारी सृजना गर्न सहज हुने व्यवसायीहरुले नै बताएका छन् । –वैकुण्ठ भण्डारी

प्रकाशित मिति: शनिबार, अशोज १८, २०७१