बिहिबार, बैशाख १३, २०८१

कैलाली जिल्लामा भित्र्याउन लागिएको धान बाली वर्षाका कारण क्षति

धनगढी, १६ असोज । दुई दिनयता भएको वर्षाका कारण कैलाली जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ । पाकेको धान काटेर खेतमा सुकाइएको अवस्थामा भएको वर्षाले हर्दिनाथ र राधा ४ लगायतको छिटो पाक्ने जातको धानमा क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख खगेन्द्रप्रसाद जोशीले बताउनुभयो । हावाहुरीसहित भएको वर्षाले पाकेर पहेलिएको धानबालीलाई समेत क्षति पु¥याएको स्थानीय कृषकले बताएका छन् ।
वर्षाका कारण खेतमा एक दुई फिटसम्म पानी जमेपछि आजभोलि नै काट्नुपर्ने धान ढिलो गरी काट्नुपर्ने अवस्था सिर्जना भएपछि  धानको बालामा समेत क्षति पुगेको स्थानीय कृषक रामगुलावले बताउनुभयो । कृषि विकास कार्यालयका प्रमुख जोशी धानबाली पाक्ने समयमा वर्षा हुनु बालीका लागि उपयुक्त नभएको बताउनुहुन्छ ।  हिउँदे तरकारीखेती गर्ने तयारीमा लागेका स्थानीय कृषकहरु खनजोत गरिएको खेतबारीलाई समेत वर्षाले हिलाम्मे बनाएपछि चिन्तित बनेका छन् । जिल्लामा झन्डै ७१ हजार ५०० हेक्टर क्षेत्रफलको जग्गामा धानबालीको खेती हुँदै आएको छ । खासगरी सर्जु, राधा, मन्सुली, राम, हर्दिनाथलगायतका उन्नत जातका धानबालीको खेती कृषकले गर्दै आएका छन् । सर्जु जातको धानको सिफारिस कृषि विभागले नगरेको भए पनि स्थानीय कृषकले अधिकांश क्षेत्रफलको जग्गामा सर्जु धानको नै खेती गर्दै आएका छन् ।
सर्जु धानमा रोगको सङ्क्रमण बढी देखिने गरेकाले विभागले यो धानको सिफारिस नगरेको कृषि प्रविधिकले बताएका छन् तर अन्य धानका तुलनामा सर्जु धान बढी फल्ने गरेकाले आफूहरुले यो धानको खेती गर्ने गरेको कृषकको भनाइ छ । -कृषिसाप्ताहिक

प्रकाशित मिति: बिहिबार, अशोज १६, २०७१