बिहिबार, बैशाख १३, २०८१

मौरी पाले बिदेशिनु पर्दैन

कैलाली, १५ असोज । कैलालीमा मौरीपालनलाई व्यावसायिक रुपमा अघि बढाउन थालिएको छ । मौरीपालनबाट मनग्य आम्दानी हुने देखिएपछि यहाँका किसानले मौरीपालनलाई व्यावसायिक रुपमा अघि बढाउन थालेका हुन् ।
मौरीपालन पनि व्यवसाय बन्न सक्छ भन्ने विश्वास नगरेका किसानले पछिल्लो समयमा यो व्यवसायलाई व्यावसायिक रुप दिएर राम्रो आम्दानी गर्न सफल हुन थालेका छन् ।
मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि यसप्रति किसानको आकर्षण बढ्दै गएको जिल्ला कृषि विकास कार्यालय कैलालीले जनाएको छ ।
विगतमा मौरीपालनलाई सौखका रुपमा लिने गरेका किसान अहिले विभिन्न सङ्घ संस्थाबाट तालिम लिएर मौरीपालन गर्दै आएका छन् । तालिमबाट लिएको सीपको सदुपयोग गर्दै मौरीपालक किसानले राम्रो आम्दानी लिन सफल भएको उदाहरण जिल्लामा प्रशस्तै भेटिने गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारीअनुसार अहिले व्यावसायिक रुपमा ३००÷४०० जना किसानले मौरीपालन व्यवसाय गर्दै आएका छन् ।
सुरुमा जानीनजानी मौरीपालन व्यवसाय गर्दै आएका मुनुवा गाविसका कृपाराम विनाडीले भने, “आर्थिक अवस्था कमजोर भएका किसानहरूका लागि मौरीपालन व्यवसाय नै सबैभन्दा उत्तम व्यवसाय रहेछ ।”
सुरुमा दश कट्ठा जमिन बेचेर मौरीपालन व्यवसाय गरेका विनाडीले आजभोलि लाखौँको मह बिक्री गर्दै आएका छन् । जग्गा बेचेर मौरीपालन व्यवसाय सुरु गर्दा गाउँलेले खिसी गरेको बताउँदै विनाडी भन्छन् , “आजभोलि मेरो व्यवसाय देखेर गाउँले दङ्ग पर्ने गरेका छन् ।” उनले वार्षिक दश क्विन्टल मह बिक्री गर्दै आएको समेत बताए ।
रोजगारीका लागि विदेशिने युवालाई यो व्यवसायमा आकर्षित गर्नसके यहीँ लाखौँ रुपैयाँ कमाउन सकिने अगुवा किसानको भनाइ छ ।
महको माग बढ्दै गएकाले मौरीपालक किसानका लागि बजारको अभाव नहुने अर्का मौरीपालक किसान गणेश विष्टको अनुभव छ । वर्षायाममा केही समस्या हुने गरे पनि अन्य समयमा मौरीपालक किसानले समस्या झेल्नुपर्ने अवस्था आउँदैन ।
कैलाली मौरीपालनका लागि उपयुक्त जिल्ला हो । यहाँ बाहिरबाट मौरी चराउनका लागि आउने किसान बढी छन् । यो क्षेत्र मौरीको चरनका लागि उपयुक्त भएकाले मौरी चराउन आउने किसान बढ्दै गएको मसुरियाका मौरीपालक किसान घनश्याम पौडेलले बताए ।

प्रकाशित मिति: बुधबार, अशोज १५, २०७१