शनिबार, बैशाख ८, २०८१

दशैैं आँगनमा आउँदा किसान खेतमा रुदै

काठमाडौं १३, असोज । दशैैं आगँनमा आउँदै गर्दा किसानहरुको आँखाभरी आशु हुँदा पनि सरकारले कुनै वास्ता गरेको छैन । जनताको गासबास र कपासको जिम्मेवारी लिनु पर्ने सरकारको यो अवस्थाले किसानहरुको विचल्ली भएको छ । विजया दशमी २०७१ हरेक नेपालीहरुको घरआँगनमा आइसकेको छ । विजयादशमीका दिन शुभ साइत गराएर लगाइने चामलका टिकाका लागि नयाँ धान घर घरमा भित्र्याउने चटारो पनि धेरैलाई छ । कतै खेतका गराहरुमा धान काट्न किसानहरु व्यस्त देखिन्छन् भने कतै किसानहरु बाढीले बगाएको आफ्ना रित्ता गराहरुमा टोलाईरहेका छन् । सरकारले जिल्ला जिल्लामा बाढी पहिरोबाट भएको कृषि उत्पादनको क्षति पत्ता लगाउन कृषि विकास मन्त्रालय, मातहतका कार्यालयहरु र सरोकार वालाहरुलाई आग्रह गरेको छ रे ? तर नेपालीहरुको महान् चाड विजया दशमीमा बगाएका आफ्ना गराका धानखेत हेरेर टोलाउने किसानका लागि राज्यले खासै चासो दिएको पाईदैन ।
Farmerप्रमुख खाद्य बालीका रुपमा रहेको धान तराईको बाँके, बर्दियामा अत्यधिक धेरै नोक्सान भएको अनुमान गरिएको छ । सो क्षेत्रबाट विगतमा उत्पादन भएको धानको प्रतिशत अत्यन्तै ठूलो मात्रामा घट्ने भएको छ । धान उत्पादनमा गरिएको लगानी समेत बालुवामा पानी बराबर भएको छ । जसले गर्दा किसानहरु मारमा परेका छन् । स्वदेशमा धान उत्पादनमा कमी हुने भएकाले आगामी बर्ष छिमेकी राष्ट्रबाट अरबौं रुपैयाँको धान भित्र्याउनु पर्ने वाध्यताको संकेत पनि देखिएको छ ।
सरकार किसानका पक्षमा देखिएको छैन कि भन्ने कुरा बाढी पीडित किसानहरुले राहत नपाउनुले नै प्रष्ट बनाएको छ । धेरै किसानहरको यो बर्षको दशैं खल्लो हुने देखिएको छ । धान भित्र्याउने बेलामा किसानहरु बगर बनेका खेत नियाल्दै आँशु बगाईरहेका छन् । तर, सानो भएपनि राहत दिनु पर्ने थियो त्यसतर्फ खासै चासो दिएको पाईदैन । कृषि क्रान्तिका कुरा गर्नेहरुले समेत यसतर्फ ध्यान दिने चेष्टा गर्न सकेका छैनन् । अनि किसानका अधिकारका कुरा गर्नेहरुले पनि केवल केही दातृ निकायहरुको रकममा गोष्ठि सेमिनारमा नै दङ्ग परिरहेका छन् ।

प्रकाशित मिति: सोमवार, अशोज १३, २०७१