बिहिबार, फाल्गुन १७, २०८०

दिवसमा मात्रै सिमित आजको रेविज दिवस

काठमाडौं,१२ असोज । हरेक बर्ष आजैका दिन मनाउने गरिएको अन्तर्राष्ट्रिय रेविज दिवस विश्वभर भव्यताकासाथ आज मनाइँदै छ । सन् २००७ बाट शुरु गरिएको यो दिवस नेपालका सन्दर्भमा भने केवल दिवस भन्दा टाढा रहन सकेन । कृषि विकास मन्त्रालय पशु सेवा विभाग पशु स्वास्थ्य निर्देशनालय जस मात्र लिने गरी गरिने यो कार्यक्रम भेटेरीनरी जनस्वास्थ्य कार्यालयले संयोजन गरेर मनाइन लागिएको भएपनि यो कार्यक्रम कागलाई बेल वाक्यो हर्ष न विस्मात भने जस्तै भएको छ ।
रेविज रोग न्यूनिकरण गर्नका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने भएको भएपनि बजेटको अभाव भन्दै यो बर्षको रेविज दिवस प्रभातफेरिमा मात्र सिमित हुने देखिएको छ । गतबर्ष यही कार्यक्रम स्कूलदेखि सडकसम्म पुगेको थियो थोरै बजेटमा गतबर्ष सम्पन्न भएपनि यो बर्ष सरकारले १ लाख ३० हजार मात्र छुट्याएकोले बजेट नपुगेको भन्दै रेविज दिवस खासै प्रभावकारी हुने देखिएको छैन ।
रेविज दिवस सप्ताहव्यापी मनाएको भएपनि यसले खासै प्रभाव पार्न सकेको देखिएन । रेविज रोगको बारेमा जसरी जनचेतना अभिबृद्धि गरिनु पर्ने थियो त्यो हुने संकेत पनि देखिएन । सेतो टिसर्ट लगाएर प्रभातफेरि गर्ने कार्य बाहेक आठौं रेविज दिवस टाढा जान सकेको छैन । अमेरिका र व्रिटेनमा रहेको विश्व रेविज नियन्त्रण ऐक्यवद्धता समूहको संयोजकत्वमा यो अभियान शुरुआत गरिएको भएपनि नेपालमा बजेट सिध्याउने काम मात्र भएको देखिन्छ ।
भेटेरीनरी जनस्वास्थ्य कार्यालयले सप्ताहव्यापी रेविज दिवस कहाँ के गरेर मनायो कसैलाई पनि जानकारी छन् । दशैंको मुखमा आएको १ लाख ३० हजार प्रभातफेरि गरेर सकिन लागेकोमा यसका विज्ञहरु भने चिन्तित देखिएका छन् । पशु अधिकारकर्मी एवं पशु चिकित्सकहरुले नै यो रेविज दिवस किन र के का लागि मनाईदैछ भन्ने प्रश्न गर्न थालेका छन् । जनतालाई झुक्याउने काम बाहेक केही पनि गर्न नसकेको र रेविजका सन्दर्भमा जसरी तल्लो तहसम्म पुग्नु पर्ने हो त्यो नपुगेको गुनासो समेत गर्न थालिएको छ ।
भेटेरीनरी जनस्वास्थ्य कार्यालयका प्रमुख डा. बोधनाथ अधिकारीसँग रेविज दिवसको सन्दर्भमा कुराकानी गर्ने लामो प्रयास असफल भएको छ । आज मनाइन लागि रेविज दिवसको संयोजन गर्ने कार्यालयका कतिपय कर्मचारीलाई नै दिवसका बारेमा जानकारी नभएको कृषि साप्ताहिकलाई बताए । त्यत्तिमात्र होइन सातादिन देखि सञ्चालन भईरहेको रेविज सप्ताहका बारेमा न त क्षेत्रीय कार्यालयलाई थाहा छ न त पशुसेवा विभागसम्म नै जानकारी पुगेको छ धेरैले प्रश्न गर्न थालेका छन् । जसरी रेविज दिवस मनाउन लागिएको छ त्यसरी मनाउनु भन्दा मनाउँदै नमनाए पनि खासै फरक नपर्ने एक पशु चिकित्सकले रोष व्यक्त गरे ।

प्रकाशित मिति: आइतवार, अशोज १२, २०७१