शुक्रबार, बैशाख ७, २०८१

संस्थानले समयमै खसीबोका ल्याउन सकेन

काठमाडौँ, ९ असोज । नेपाल खाद्य संस्थानले आजदेखि खसीबोका बिक्री गर्ने भने पनि त्यसो हुन सकेन ।

संस्थानले काठमाडौँ उपत्यका बाहिरका जिल्लाबाट समयमै खसीबोका ल्याउन नसकेका कारण बिक्री गर्न नसकिएको हो ।
संस्थानले विगतमा तराई तथा मध्य पहाडी जिल्लाबाट दसैँको समयमा खसीबोका खरिद गरी घटस्थापनाको ३÷४ दिनअघिदेखि नै काठमाडौँ ल्याउने र मूल्य निर्धारण गरी आजको दिनदेखि बिक्री सुरु गर्ने गर्दथ्यो ।
संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले वीरगन्ज, हेटाँैडालगायतका स्थानमा सम्बन्धित अञ्चल कार्यालयले खसीबोका खरिद गर्न नसकेको जानकारी दिँदै नेपालगन्ज, दाङ, धादिङलगायतका स्थानमा भने खरिद भइसकेको र भोलि साँझसम्म काठमाडौँ ल्याई मूल्य निर्धारण गरिने बताउनुभयो । उहाँका अनुसार थापाथलीस्थित संस्थानको गोदामबाट शनिबारदेखि नै बिक्री सुरु गरिने छ ।
दसैँमा मासुको माग अत्यधिक बढ्ने भएकाले निजी क्षेत्रबाट मात्र खसीबोकाको कारोबार भए बजार एकाधिकार भई त्यसको मूल्य अनियन्त्रित तरिकाले बढ्न सक्ने सम्भावना हुन्छ ।
यस अवधिमा संस्थानले ग्रामीण भेगका कृषकसँग खसीबोका खरिद गरी वैज्ञानिक मूल्य निर्धारण गरेर बजार मूल्यलाई सन्तुलनमा राख्न खसीबोका बिक्री गर्ने गर्दछ । संस्थानले यस वर्ष करिब तीन हजार ४०० खसीबोका ल्याउने बताइएको छ ।

प्रकाशित मिति: बिहिबार, अशोज ९, २०७१