शुक्रबार, चैत्र १६, २०८०

पशुपालन गर्ने महिलालाई स्वर्णिम पुरस्कार

इटहरी, ८ असोज । हेफर इन्टरनेसनलले आफ्नो १७ औँ दिवसको अवसर पारेर मङ्गलबार मोरङमा आयोजित कार्यक्रममा पूर्वाञ्चल महिला समूह सुन्दरपुर दुलारी–२ की भगवती पराजुलीलाई स्वर्णिम प्रतिभा पुरस्कार वितरण गरेको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले रु ७० हजार राशिको सो पुरस्कार पराजुलीलाई प्रदान गर्दै मुलुक बनाउने जिम्मेवारी महिलाले प्राप्त गरे चाँडै नै देशलाई समृद्ध बनाउन सक्ने विश्वास जागृत हुन थालेको बताउनुभयो ।
हेफर इन्टरनेसनलका कार्यक्रम निर्देशक डा तीर्थराज रेग्मीले पराजुलीजस्ता धेरै महिला गाउँमा सक्रिय बन्ने हो भने गाउँको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा समय नलाग्ने उल्लेख गर्नुभयो ।
देशभर दुई लाख मानिसको बीचमा रहेर ग्रामीण गरिबी निवारणका लागि पशुपालन क्षेत्रका सक्रिय रहँदै आएको हेफर इन्टरनेसनलले आगामी आठ वर्षभित्रमा नेपालको पाँच लाख जनसङ्ख्यामा आफ्नो कार्यक्रम विस्तार गरेर गरिबी निवारणमा थप योगदान दिने पनि निर्देशक रेग्मीले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पुरस्कृत पूर्वाञ्चल महिला समूहकी अध्यक्ष पराजुलीले प्रहरीमा कार्यरत श्रीमान् माओवादी जनयुद्धकालमा माओवादीले थापेको एम्बुसमा परेर विवाह गरेको दुई वर्षमा एकल हुन बाध्य बनेको अवस्थामा हेफर इन्टरनेसनलको सहयोगमा सेवा इटहरीले आफूलाई बाँच्न टेवा पु¥याएको बताउनुभयो ।
हेफर इन्टरनेसलले सेवा साहस संस्थामार्फत सुन्दर दुलारी नगरपालिकामध्ये सुन्दरपुरमा केन्द्रित व्यावसायिक पशुपालन कार्यक्रमले सुन्दरपुरका तीन हजार ६३६ परिवारको आर्थिक हैसियत उकास्ने कार्यमा महिलालाई व्यावसायिक सक्रियता बनाइरहेको छ ।

प्रकाशित मिति: बुधबार, अशोज ८, २०७१