शुक्रबार, चैत्र १६, २०८०

बाली तथा पशुधनसम्बन्धी अनुदान निर्देशिका स्वीकृत

काठमाडौँ, ७ असोज । सरकारले ‘बाली तथा पशुधन बिमाको प्रिमियम(किस्ता)मा अनुदान उपलब्ध गराउने निर्देशिका, २०७१’ स्वीकृत गरी लागू गरेको छ । कृषि विकास मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी सो निर्देशिका कार्यान्वनमा ल्याएको हो । निर्देशिकामा बिमाको प्रिमियममा ५० प्रतिशत मात्र अनुदान दिने व्यवस्था रहेकामा चालु आवको बजेटमा बाली तथा पशुधन बिमाको प्रिमियममा ७५ प्रतिशत अनुदान उपलब्ध गराउने उल्लेख भएको छ ।
बिमाको सीमा अधिकतम् रु एक करोड मात्र तोकिएकामा परिमार्जनबाट बिमाङ्क सीमा हटाइएको मन्त्रालयका सहायक प्रवक्ता टेकप्रसाद लुईंटेलले जानकारी दिनुभयो । उहाँले बिमा प्रिमियममा सरकारबाट दिइँदै आएको अनुदान रकम ५० प्रतिशतबाट वृद्धि गरी ७५ प्रतिशत पु¥याइएको बताउनुभयो । कृषि व्यवसायको आधुनिकीकरण गर्दै दिगो आर्थिक विकास गर्ने, कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र त्यसलाई दिगो र प्रतिष्पर्धी बनाउन कृषि यन्त्र तथा उपकरणको प्रयोग तथा अनुसन्धान, अनुशरण, विकास एवम् प्रवद्र्धन गर्न भौगोलिक अवस्था सुहाउँदोे कृषि प्रणालीको प्रयोग गरी उत्पादकत्व वृद्धि गर्ने निर्देशिकाको लक्ष्य रहेको छ ।
गत आवको सम्ममा रु ६२ करोड ५४ लाख चार हजार ६०० बराबरको बाली, पशुधन र मत्स्यको बिमा गरिएको थियो । सोवापत रु तीन करोड ४० लाख १९ हजार १२४ बिमा प्रिमियम बिमा कम्पनीले सङ्कलन गरेका छन् । सरकारको बिमा प्रिमियममा ५० प्रतिशत अनुदान दिने योजनाअनुसार रु एक करोड ७० लाख २४ हजार ५११ अनुदान कृषकलाई बाली तथा पशुधन बिमा प्रिमियम कोषमार्फत उपलब्ध गराइएको हो । पशु बिमाका लागि १४ बिमा कम्पनी संलग्न थिए । -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, अशोज ७, २०७१