आइतवार, जेष्ठ १३, २०८१

सरकारी अनुदान हात पार्न, प्राङ्गारिक मल कारखानाहरु थपिदै छन्

santos kunwar

सन्तोष कुँवर
सचिव– नेपाल प्रांगारिक मल उत्पादक संघ

नेपालमा अर्गानिक कृषि उत्पादन कत्तिको सम्भव देख्नु भएको छ ?
सम्भावना मात्र होइन हामीले ९० प्रतिशत भन्दा बढी कृषि उत्पादन अर्गानिक गर्न सक्ने अवस्था छ । ६० प्रतिशत कृषिमा संलग्न किसानहरुलाई हेर्ने हो भने चुरे भन्दा माथिल्ला भागहरुमा अझै पनि पुरै जमीनमा अर्गानिक उत्पादन गर्न हामी सक्षम हुन सक्छौं ।
रासायनिक मल र बिषादीको अत्यधिक प्रयोगका कारण माटो विग्रिसकेको छ अर्गानिक उत्पादन सम्भावना छैन भन्छन् नि त ?
यहा“ले भन्नु भएको कुरा त सहि नै हो तर छिमेकी राष्ट्रको तुलनामा हाम्रो देशको माटो विग्रिसकेको छैन । बंगलादेशमा मात्र १६० केजी प्रतिहेक्टर रासायनिक मलहरु प्रयोग हुन्छ हामी कहा“ मुश्किलले २० केजी हुन्छ । दक्षिण एसियाका अरु देशहरुमा पनि त्यस्तै हो सुरक्षित जमीन भनेकै नेपाल कै हो । अर्गानिक उत्पादनका लागि नेपाल मात्र वाँकी छ । जुन कुरा केही समय अगाडि भारतीय प्रधानमन्त्री मोदीले नै सम्वोधन गरेर गईसकेका छन् यसले पनि के प्रष्ट पार्दछ भने हामी अर्गानिक उत्पादनका लागि धेरै गर्न सक्छौं ।
नेपालमा प्रयोग गरिएका रासायनिक मल र बिषादीका कारण अर्गानिक उत्पादनमा समस्या छैन भन्न खोज्नु भएको हो ?
हाम्रो देशको खुल्ला सिमाना तराई क्षेत्रको जनधनत्व बढीले गर्दा पुरै प्रांगारिक नै तराईमा गरौं भन्दा केही मात्रामा गाह्रो पनि होला किनकी रासायनिक मल प्रयोग गर्दा र र प्रांगारिक मल प्रयोग गर्दा उत्पादनमा फरक आउँछ । प्रांगारिक मल प्रयोग गर्दा गुणस्तरीय उत्पादन हुन्छ तर,उत्पादनमा कमी हुन्छ । उत्पादन घट्ने भएकाले पनि प्रांगारिक मल प्रयोग गर्न नखोजिएको पनि होला । सवैले उत्पादन बढी गर्ने र बढी कमाउन खोजेकाले पनि यस्तो भएको हो । रासायनिक मल र बिषादी प्रयोग गरिएका खाद्य उत्पादनका कारणले निम्त्याएको रोगले हामीले कति खर्च बेहोर्नु पर्ने हो त्यसतर्फ ध्यान कसैले पनि दिएका छैनन् ।
सम्भव छ त प्रांगारिक मल मात्र प्रयोग गर्न ?
छैन । रासायनिक मल विना नै कृषि उत्पादन गर्दछु भन्यो भने त्यो पनि सम्भव छैन । जवकी नाईट्रोजनको मात्रा युरिमा ४६ प्रतिशत हुन्छ भने प्रांगारिक मलमा १.५÷२.५ भन्दा माथि पु¥याउन धेरै नै गाह्रो छ । गाईको मुत्रमा ६ प्रतिशतसम्म आउन सक्छ जव त्यसलाई संकलन गरेर राख्दा २ प्रतिशतमा आईपुग्छ त्यसलाई सुरक्षित तरीकाले राख्न नसकेका कारण हो नि त । अहिले नेपालमा उत्पादन भएका कम्पोष्ट मल हेर्नुसन् । मल भनेको नाईट्रोजन, फस्फोरस र पोटासको समिश्रण हुनु प¥यो तर त्यो पनि सहि हुन सकेको छैन । यत्तिले मात्र धेरै उत्पादन बढाउँछु भनेर सकिन्न । प्रांगारिक कृषि उत्पादन गरेर आफूलाई उपभोग गर्दछु वा निर्यात गर्दछु भन्ने सोचले गर्न सक्यो भने मात्र हुन्छ ।
यसको मतलव अर्गानिक उत्पादन महंगो पर्दछ त्यस कारण निर्यात योग्य कृषि उत्पादन अर्गानिक सम्भव छ भन्न खोज्नु भएको हो ?
महंगो त परिहाल्छ । रासायनिक मल प्रयोग गरेर तीन गुणा बढी उत्पादन गरिरहेको ठाउ“बाट तीन गुणा कम उत्पादन हु“दा त्यही बराबरको रकम त किसानले लिनै पर्दछ नि । त्यसले गर्दा त महंगो स्वभाविक हो । रासायनिक मल प्रयोग गर्दा २० रुपैयँ“ किसानले पाईरहेका छ भने प्रांगारिक उत्पादन गर्दा ६० रुपैया“ पाउनु पर्दछ । अनि कसरी दीगो बनाउन सकिन्छ । कित अर्गानिक उत्पादनलाई सरकारले प्रशस्त मात्रामा अनुदान दिन सक्नु प¥यो होइन भने किसान मर्कामा परिहाल्छ । उत्पादन लागत मूल्य आएन भने किसानले किन बेच्ने ?
प्रांगारिक मलबाट कृषि उत्पादन घट्छ भन्नु भयो तर पनि प्रांगारिक मल उत्पादन गर्नेहरुको संख्या बढ्दै छ नि किन त ?
यसको कुनै ठूलो कारण नै छैन । सरकारले प्रांगारिक मल उत्पादन गर्नेहरुका लागि अनुदान दिने सूचना निकाल्छ । त्यही अनुदान प्राप्त गर्नका लागि पनि आधा भन्दा बढी मल उत्पादकहरु बढेका छन् । दोस्रो सरकारले हरेक बर्ष १० करोडको अनुदान भर्मिकम्पोष्ट र कम्पोष्टमलका लागि दिएका कारण पनि आकर्षित भएको हुन सक्छ । अर्को कुरा विगतमा मल उत्पादन गर्नेहरुको फाइदा देखेर नि गरेको हुन सक्छ । तर हामीलाई प्रांगारिक मल कति चाहिन्छ भन्ने त हुनु पर्दथ्यो तर त्यो हुन सकेको छैन ।
कम्पोष्ट मल र भर्मिकम्पोष्ट मल कै बारेमा बुझाउन सकिएको छैन ?
भर्मिकम्पोष्ट भनेको शुद्ध गड्यौलाले खाएर पचाएर निक्लेको मल हो । कम्पोष्ट मल भनेको चाहिँ विभिन्न कुहिने बस्तुहरुलाई कुहाएर प्राविधिक रुपमा उत्पादन गरिएको मल हो । यी दुई मल वीच धेरै नै अन्तर छ । केही समय अगाडि भर्मिकम्पोष्ट र कम्पोष्ट एउटै हो भनेर पनि चिनाइयो । तर त्यो फरक हो र अहिले त्यसलाई फरक रुपमा नै लिइएको छ । र अहिले बजारमा जति पनि भर्मिकम्पोष्ट मलका रुपमा विक्री भईरहेको छ । मलाई लाग्छ ती भर्मिकम्पोष्ट मल नहुन सक्छन् । सयौं टन गड्यौलाले खाएर पचाएर मल उत्पादन भएको भन्ने संकेत देख्दिन ।
त्यसो भए भर्मिकम्पोष्ट मलका नाममा गतल काम भएका छन् ?
मैले बुझे अनुरुप बजारमा भर्मिकम्पोष्ट मल भनेर विक्री गरिएका मलहरु भर्मिकम्पोष्ट मल होइनन् । तत्काल अहिले गएर जा“च गर्ने हो भने पनि त्यसबाट नै प्रमाणित हुन्छ । अनुमान लगाउनुस् न सयौं टन गड्यौलाले खाएर मल उत्पादन गर्ने क्षमता नेपालमा अहिले कहाँ र कस्को छ ।
यहा“ आफै उत्पादक संघको सचिव हुनुहुन्छ के छ अवस्था उत्पादकहरुको ?
प्रांगारिक मल उत्पादनले भर्खरै मात्र बामे सर्दै गरेको अवस्था छ । त्यत्ति धेरै पुरानो उद्योग त होइनन् । सरकारको अनुदान प्राप्त प्रांगारिक मल उत्पादकहरुले भन्दा अनुदान नपाउनहरुले गुणस्तरीय र सस्तोमा किसानलाई मल उपलब्ध गराईरहनु भएको छ । यसले त उत्पादकहरु टिक्नै सक्दैनन् । सरकारले उत्पादन लागतलाई मूल्यांकन गरेर विक्री मूल्यमा एकरुपता ल्याईदिनु पर्दछ त्यो भएको छैन । यतिसम्म कि भर्मिकम्पोष्ट मल कति रोपनीमा कति प्रयोग गर्ने भन्ने कुरालाई पनि किसानसम्म पु¥याउनु पर्दछ । भर्मिकम्पोष्ट मल किन कृषि सामग्रीमा थन्किएर बसेको छ त ? त्यो हेर्नु प¥यो केही न केही कारण त छ । कृषि सामग्रीले नबेचेको हो कि ? गुणस्तर नभएको हो कि यकिन त हुनु प¥यो नि ।
कृषि सामग्रीले त ५ रुपैयँ“ केजी पनि विक्दैन भन्छन् त ? कतिपय उत्पादकहरु त गुणस्तर भन्दा पनि सरकारी अनुदान प्राप्त गर्ने उदेश्यमात्र लिएर बसेका छन् भन्छन् नि ?
हुन सक्छ । तर कतिपय ठूला लगानी गर्नेहरुले सरकारसँग मिलेर केही गर्न सकिन्छ की भन्ने सोचले उत्पादन गर्नेहरु छन् । भने कतिपय अनुदान लिने सोचमा उत्पादन शुरु गर्ने र अनुदान प्राप्त गरिसकेपछि उत्पादन नै बन्द गरेका पनि छन् । त्यसकारण आफू दिगो हुने किमिसले उत्पादकहरु लाग्नु प¥यो त्यसका लागि गर्ने भनेको निजी साझेदारी नै हो ।
राज्यले निजी उत्पादकहरुस“ग अनुदान भन्दा पनि हातेमालो गर्दै गएको भए हुन्थ्यो होला नि, किन हुन नसकेको होला ?
सरकार र निजी क्षेत्रवीच प्रभावकारी ढंगले सम्वाद नै हुन सकेको छैन । सरकारले निजी क्षेत्रलाई र निजी क्षेत्रले सरकारलाई हेर्ने दृष्टिकोण नै फरक फरक भईरहेको छ । अव नयाँ पुस्ताले त्यसलाई केही परिवर्तन गर्न सक्छ कि जस्तो लाग्छ । अहिले हामीले चिया, कफी र महको विषयमा सम्वाद गरिरहेका छौं ।  – वैकुण्ठ भण्डारी 

प्रकाशित मिति: आइतवार, अशोज ५, २०७१