बिहिबार, फाल्गुन १७, २०८०

नेताहरू कृषि तथा पशुपालन व्यवसायमा

रौतहट, ५ असोज । राजनीति गर्नेले अन्य काम गर्दैनन् भन्ने मान्यतालाई चिर्दै कृषि र पशुपालन व्यवसायमा यहाँका युवा नेताहरू लागेका छन् । ती नेताहरूमध्येका हुन् – रौतहटको चन्द्रपुर नगरपालिकाका भुपेन्द्र खड्का, नन्दलाल साह र लक्ष्मी बराल । त्यसो त उनीहरूको राजनीतिक पृष्ठभूमि पनि फरकफरक छ । नेकपा (एमाले)का सक्रिय सदस्य तथा विकासे कार्यकर्तासमेत रहेका भुपेन्द्र खड्काले दुई बिघा जग्गा पाँंच वर्षका लागि भाडामा लिएर व्यावसायिक तवरले नयाँ प्रविधिबाट केराखेती सुरु गर्नुभएको छ ।
उहाँले चितवन जिल्लाबाट उन्नत जातका दुई हजार माल्वो केराका बिरुवा ल्याएर रोप्नुभएको छ । उहाँका अनुसार ती बोटले आगामी वैशाख महिनादेखि उत्पादन दिन सुरु गर्नेछ । उहाँले भन्नुभयो, “धेरै समय राजनीति तथा विकासे कार्यकर्ता भएर लागियो, सबैलाई सिकाइयो पनि, अब आफूले पनि केही गर्नुपर्छ भन्ने लागेर केराखेती गर्न सुरु गरेको हुँ ।” उहाँले भविष्यमा कृषि फार्म विकसित गर्ने र उत्पादित केरा स्थानीय बजार तथा काठमाडाँैमा खपत गर्ने लक्ष्य रहेको पनि बताउनुभयो ।
नेपाली काँग्रेसका महिला नेत्री लक्ष्मी बराल तथा नेकपा (एमाले)का पासपत साहले संयुक्त रूपमा गाईपालन फार्म खोल्नुभएको छ । उहाँहरूले गाईपालन गरेर मनग्य आम्दानी पनि गरिरहेका छन् । दूधको माग बढ्दै गएपछि उहाँहरूले सुरुमा १८ वटा होलस्टोन जातका उन्नत गाईपालन गरी दुग्ध व्यवसाय सुरु गर्नुभएको थियो । रु एक करोड लगानी गरेर सुरु गरेको व्यवसायबाट आफूले अपेक्षित रूपमा आम्दानी गर्दै आएको बरालले बताउनुभयो । हाल उहाँको फार्मबाट दैनिक २०० लिटर दूध बिक्री वितरण हुँदै आएको छ । अर्कोतर्फ खड्काले सामाजिक र राजनीतिक काम सकेर बचेको समय केराखेतीमा लगाउने गर्नुभएको छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, अशोज ५, २०७१