भीमदत्तनगर, ५ असोज । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनःवासमा कृषि क्याम्पस स्थापनार्थ हुन गइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी तीव्र पारिएको छ । पुनःवास नगरपालिका–१२ आरबिआरडीमा यही असोज २४ देखि ३१ गतेसम्म हुन गइरहेको महायज्ञको प्रचारप्रसारदेखि लिएर आर्थिक स्रोत जुटाउने कार्यहरु अगाडि बढिरहेको महायज्ञ व्यवस्थापन मूल आयोजक कमिटीका अध्यक्ष रामचन्द्र नेपालले बताउनुभयो । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्ने कार्यक्रम रहेको छ । ‘पुनः वासमा कृषि क्याम्पस स्थापना गरौँ, सप्ताह ज्ञान महायज्ञमा सहभागी बनौँ’ भन्ने नाराका साथ हुन गइरहेको महायज्ञमा सङ्कलन हुने आर्थिक रकम कृषि क्याम्पस स्थापनार्थ खर्च गरिने अध्यक्ष नेपालले बताउनुभयो ।
सुदूरपश्चिमका अधिकांश जनता कृषि पेसामा संलग्न भएको हँुदा यस क्षेत्रमा कृषि क्याम्पसको आवश्यकता भएको यज्ञ व्यवस्थापन समितिका विशेष सल्लाहकार खेम सुवेदीले बताउनुभयो ।पुनःवासमा रहेको राष्ट्रिय आवास कम्पनीको ६५ बिघा क्षेत्रफलमा रहेको जमिनलाई कृषि क्याम्पसको नाममा ल्याउने कार्यसमेत अगाडि बढिरहेको जनाइएको छ । महायज्ञमा करिब पाँच करोड बराबरको आर्थिक सङ्कलन हुने लक्ष्य राखिएको छ । रासस
Add Comment