मङ्लबार, बैशाख ११, २०८१

गुणस्तरहिन दाना बजारमा प्रशस्त

काठमाडौं, ४ असोज । पशुका लागि अति उपयोगी हरियो घाँस उत्पादन भन्दा पनि किसानहरुलाई दाना तर्फ आकर्षित गर्ने व्यापारीहरुले गुणस्तरहीन दाना विक्री गरिरहेका छन् । पशुका लागि आवश्यक दाना उत्पादन गर्ने दाना व्यवसायीहरुले गुणस्तरलाई ख्याल नै नगरी दाना उत्पादन र विक्री वितरण गर्दा पनि यसप्रति खासै चासो दिएको पाइएको छैन ।
पछिल्लो समयमा चरनको अभाव खेपिरहेका किसानहरुका लागि पशुको लागि दैनिक उपभोग्य सामग्रीका रुपमा दानालाई प्रयोग गर्न त थालेका छन् तर, त्यसको गुणस्तरताका बारेका जानकारी नभएका कारण पशुहरुमा विभिन्न खाले रोगहरु समेत देखा पर्न थालेको छ । केही दिन अगाडि मात्र भक्तपुरको एक गाई फार्ममा एउटा गाई मरेपछि गाई मर्नुको तथ्य पत्ता लगाउनका लागि फार्म सञ्चालकले आफूले किनेको दानाको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पुगेपछि दानाको गुणस्तर जाँच शुरु त भयो तर दाना गुणस्तरहीन भएको सार्वजनिक हुन सकेन ।
सरकारले पशुपालनमा युवाहरुलाई आकर्षित गरी दुधमा आत्मनिर्भर हुने प्रयास गरिरहेका बेला पशुका लागि दैनिक आवश्यक दानाको गुणस्तर चेक जाँन नियमित गर्नु पर्दछ कि पर्दैन ? यसको दायित्व कस्को हो ? बजारमा बेच्न राखिएका दानाको गुणस्तरमाथि प्रश्न उठाउने ठाउँ प्रशस्त देखिन थालेको छ ।
पछिल्लो समयमा दाना उत्पादन गर्ने उद्योगहरु जतिको संख्यामा थपिँदै गईरहेका छन् त्यही आधारमा उद्योगहरुले उत्पादन गरेका दानाको गुणस्तर तर्फ पनि सम्वन्धित निकायले निगरानी बढाउनु पर्दछ ।
गाईभैसी, भेडाबाख्रा, बंगुर माछा के का लागि दाना उत्पादन भएको छ र अहिले बजारमा कुन पशुपंछीका लागि प्रयोग भईरहेको छ भन्ने कुरा पनि नियमन गर्ने निकायले हेर्नु पर्ने थियो तर हेर्न सकेको देखिँदैन । त्यसैका कारण पनि दाना उद्योगहरु माथि किसानहरुले प्रश्न उठाउन थालेका छन् ।
दाना उद्योगहहरुले उत्पादन गरेका दाना गुणस्तरहीन छन् जसले पशुपंक्षीहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारिरहेको छ र रोगहरु निम्त्याईरहेको भन्ने किसानहरुको गुनासो समेत सुनिदिने निकाय छैन । यसप्रति जिम्मेवार हुनु पर्ने को हो ? किसानहरुले उजुरी गर्ने ठाउँकहाँ हो ? अन्योलता छ । अनि पशुपंक्षीहरुका लागि दाना उद्योग स्थापना गर्ने व्यवसायीहरुले पनि किसानका पक्षमा र गुणस्तरीय दाना उत्पादन गरी विक्री वितरण गर्नु पर्ने देखिन्छ । अन्यथा दाना उद्योग संख्यात्मक रुपमा त बृद्धि होला तर गुणात्मक रुपमा बृद्धि हुन नसक्दा विदेशी दाना उद्योगहरुले नै मस्ती नगर्लान् भन्न सकिँदैन ।

प्रकाशित मिति: शनिबार, अशोज ४, २०७१