शनिबार, बैशाख १, २०८१

सुपारी–अलैँची व्यवसाय दिगोपनमा प्रतिबद्ध : अध्यक्ष नेम्वाङ

चापागाउँ (ललितपुर), ४ असोज । संविधानसभाका अध्यक्ष सुवासचन्द नेम्वाङले सुपारी–अलैँची व्यवसायमा दिगोपन ल्याउन प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल सुपारीखेती विकास संस्था र नेपाल अलैँची व्यवसायी महासङ्घद्वारा आज यहाँ आयोजित ‘अलैँची’ एवम् ‘सुपारी संसार’–२०७१ नामक स्मारिका लोकार्पण गर्दै उक्त कुरा बताउनुभएको हो ।समस्याको बाबजुद पनि निरन्तर व्यवसायमा लागिपरेका कृषकको कार्य सकारात्मक भएको उल्लेख गर्दै यसले देशको विकासको निम्ति सही दिशा निर्धारण गर्न सकिनेमा अध्यक्ष नेम्वाङ विश्वास व्यक्त गर्नुभयो ।सो अवसरमा अध्यक्ष नेम्वाङले माघ ८ गतेमा देशले नयाँ संविधान पाउनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभयो । उहाँले पहिलो संविधानसभाले गरेका कामहरु दोस्रो संविधानसभाले ग्रहण गरिसकेको अवस्थामा दलहरुको प्रतिबद्धता र लगनशील रहनसकेमा निश्चय पनि निर्धारित समयमा संविधान जारी हुने बताउनुभयो ।संविधान निर्माणका कामहरु द्रूतगतिमा भइरहेकाले मस्यौदा र सम्वाद समितिमा रहनुभएका सदस्यहरुलाई दसैँको समयमा पनि राजधानीमा नै रहेर काम गर्न आग्रह गर्नुभएको छ ।
पूर्वसचिव डा हरि दाहालले सुपारी व्यवसायीको समस्याको समाधानका निमित्त सरकारका तर्फबाट आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समस्या समाधानका लागि सरकारले आवश्यक नीति तयार गरी कार्यान्वयन गर्नसकेमा व्यवसायीले राम्रो आम्दानी गर्नसक्ने विश्वास गर्नुभयो ।यसैगरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत श्रीप्रसाद घिमिरेले नेपालमा बर्सेनि ६०० अर्ब बराबरको व्यापार घाटा हुने गरेको जानकारी दिनुभएको छ ।नेपालबाट वार्षिकरुपमा रु चार अर्ब बराबरको अलैँची निर्यात हुने गरेको चर्चा गर्दै सुपारीको समेत राम्रो निर्यात भइरहेको अधिकृत घिमिरेले बताउनुभयो । इलाम, पाँचथर, भोजपुर, गोरखा, लमजुङमा अलैँचीको राम्रो उत्पादन हुन सकिने बताउँदै देशभरिमा ३८ जिल्लामा यस व्यवसायीको राम्रो सम्भावना रहेको घिमिरेले बताउनुभयो ।नेपालमा मात्र वार्षिकरुपमा करिब १३ हजार मेट्रिक टन बराबरको सुपारी उत्पादन भइरहेको नेपाल सुपारीखेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले बताउनुभयो । जसमध्ये नौ हजार मेट्रिक टन झापामा मात्र सुपारी उत्पादन हुने गरेको उहाँको तर्क छ गर्दै नेपालको करिब १८ जिल्लामा सुपारीखेती हुनसक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति: शनिबार, अशोज ४, २०७१