आइतवार, जेष्ठ १३, २०८१

वैदेशिक रोजगारी छाडेर गाउँमै गाईपालन

म्याग्दी, ४ असोज । म्याग्दीको घारमा व्यावसायिक गाईपालनबाट त्यहाँका युवा आत्मनिर्भर बन्दै गएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा पुगेर गाउँ फर्किएका युवाहरू गाउँमै उन्नत जातका गाई पालनमा लागेका हुन् ।

निलगिरी गाईपालन समितिमा आबद्ध भएर उनीहरूले दूध उत्पादन गरी गाउँमै चिज उद्योगसमेत सञ्चालनमा ल्याएका छन् ।
कृषककै पहलमा हिमालयन चिज उद्योग स्थापना भएपछि गाउँमा व्यावसायिक गाईपालन गरेका युवाले राम्रो आम्दानी गर्न थालेको उद्योगका अध्यक्ष गोविन्द खड्काले बताउनुभयो ।
करिब दुई वर्ष अगाडिदेखि सुरु गरिएको गाईपालनले अहिले अभियानको रूप लिएको छ, उहाँले भन्नुभयो । १२ वर्षसम्म रोजगारीको क्रममा कोरिया बसेर घर फर्किएका युवा कृषक नारायण बरुवालले विदेशमा जस्तो परिश्रम स्वदेशमै गरेमा यहीँ नै आम्दानी गर्न सकिने अनुभव सुनाउनुभयो ।
रु ११ लाख लगानीमा गाईपालन सुरु गर्नुभएका बरुवालले अहिले दैनिक ३० लिटर दूध उत्पादन गर्दै आउनुभएको छ । बरुवालको गाई फार्ममा अहिले नौवटा गाई छन् ।
बरुवाल जस्तै लामो समयसम्म वैदेशिक रोजगारीको सिलसिलामा कतारबाट घर आएर गाइपालन गर्नुभएका श्यामप्रसाद खड्काले पनि लगनशील भएर पेसालाई सानो ठूलो नभनी लागेमा स्वदेशमै आम्दानी गर्न सकिने बताउनुभयो ।
घारमा अहिले युवा कृषक बमबहादुर बरुवाल र कुलबहादुर बरुवालले पाँच÷पाँचवटा गाईपालन गर्नुभएको छ ।

प्रकाशित मिति: शनिबार, अशोज ४, २०७१