शुक्रबार, चैत्र १६, २०८०

कृषि सडक नाम, रकम झ्वाम पार्ने काम

काठमाडौं,४ असोज । कृषि सडक ७५ जिल्लामा पु¥याउने भन्नेहरुले कृषि सडकका नाममा कतिसम्म वदमासी गरिरहेका छन् भन्ने कुरा खोज्न अन्तै जानै पर्दैन । स्थानीय विकास मन्त्रालय मातहत रहेको डोलिडारमा गएर खोजि गर्ने हो भने त्यसले स्पष्ट पार्दछ । डोलिडारले कृषि सडकका नाममा गरेको खर्च बजेट सिध्याउने काम बाहेक अरु केही गर्न नसकेको स्थानीय विकास मन्त्रालयका अधिकारीहरु नै बताउँछन् ।
गतांकमा डोलिडारको समाचार कृषि साप्ताहिकमा प्रकाशित भएपछि त्रसित बनेका डोलिडारका कर्मचारीहरु वास्तविक तथ्याङ्क दिन समेत पछि परेका छन् । जसले गर्दा डोलिडारको काम ‘दाल मे कुछ काला हैं’ भन्ने प्रष्ट देखिएको छ । विभिन्न परियोजना मार्फत कृषि सडकमा लगानी गरिएको भएपनि गत बर्ष कहाँ कहाँ सडक बन्यो भन्ने सूचना दिन चाहँदैनन् कर्मचारीहरु । सवै तथ्याङ्क मन्त्रालयमा पठाईसकिएको डोलिडारका कर्मचारी बताउँछन् भने मन्त्रालयका कर्मचारी ती सवै कामहरु डोलिडारको भएकाले बजेट खर्च देखि भएका उपलब्धिहरु समेत उसैले उपलब्ध गराउँछ भन्छन् । डोलिडारको सहि तथ्याङ्क पाउन कृषि साप्ताहिकलाई हम्मे हम्मे परेको छ । स्थानीय विकास मन्त्रालयका एक योजना अधिकृतले डोलिडारले पठाएको उपलब्धिहरु देखाउँदै भने हामीलाई प्राप्त हुने यत्तिनै हो । तर मन्त्रालय पुगेको पत्रमा समस्या र कूल बजेट बाहेक अरु केही पनि देखिएको छैन ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडारका) का महानिर्देशक जीवनकुमार श्रेष्ठ भने कृषि सडकका बारेमा बोल्नै चाहँदैनन् । विभागमा भएर पनि सँधै वैठकमा रहेको जानकारी दिने महानिर्देशक कृषि सडकको रकम दुरुपयोग गर्ने मतियारका रुपमा डोलिडारका कर्मचारीहरुले लिएका छन् । आफू स्थानीय विकास मन्त्री प्रकाशमान सिंहको अत्यन्तै नजिकको भएकाले व्यक्ति भएको भन्दै मन्त्रीको नाममा शक्ति प्रर्दशन गर्न लालायित श्रेष्ठले कृषि सडकका नाममा आर्थिक बर्षको अन्त्यमा राम्रै संकलन गरेको समेत बताइएको छ । र त कृषि सडकका नाममा रातारात डोजर पेलाएर रकम झ्वाम पारेको देखिन्छ । कृषि सडक निर्माणका क्रममा भएको आर्थिक अनियमितताका बारेमा अख्तियारले छानविन गर्ने तयारी गरेको अख्तियार स्रोत बताउँछ । – कमला नेपाल 

प्रकाशित मिति: शनिबार, अशोज ४, २०७१