शुक्रबार, चैत्र १६, २०८०

मौरी र केराका लागि दुई नमुना गाउँ निर्माण गरिँदै

प्युठान, ३ असोज । जिल्ला कृषि विकास कार्यालय प्युठानले जिल्लाका दुई गाविसमा मौरी र केराका लागि नमुना गाउँ निर्माण कार्य सुरु गरेको छ । दक्षिणी क्षेत्रमा रहेको बाङ्देशाल गाविसमा केराका लागि र ढुङ्गेगढी गाविसको मोतिपुरलाई मौरीका लागि नमुना गाउँका रुपमा विकास गर्ने गरी कार्य सुरु भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रमअन्तर्गत नमुना गाउँ कार्यक्रम सुरु भएको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत महेशचन्द्र आचार्यले बताउनुभयो । कार्यक्रमअन्तर्गत मोतिपुरका कृषकलाई अनुदानमा १०० वटा मौरीघार दिई सामूहिक मौरीपालन गर्ने तथा केराखेतीका लागि बाङ्देशालमा १० हजार उन्नत जातका बिरुवा लगाउने तयारी भएको अधिकृत आचार्यले बताउनुभयो ।
प्युठान जिल्ला मौरी पालनका लागि राम्रो सम्भावना भएको भए पनि व्यावसायिक मौरीपालन सुरु नभएको भन्दै मौरीपालन विकास विभाग गोदावरीका कार्यालय प्रमुख तथा मौरी विकास विज्ञ सावित्री बरालले जिल्लामा मौरीको सम्भावनालाई मध्येनजर गरी आफूहरूले पनि सहयोग गर्ने बताउनुभयो । उहाँका अनुसार जिल्लामा व्यावसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्नसकिने अवस्था रहेको छ । गत वर्ष गोरखा, चितवन, इटहरी र नवलपरासीका मौरीपालक कृषकले जिल्लामा मौरी चरणका लागि लगेर एक हजार २०० भन्दा धेरै मौरी घारबाट झन्डै रु एक करोड आठ लाख आम्दानी गरेको कृषि तथ्याङ्कले देखाएको छ । एैरावती कृषि सहकारी संस्था बड्डाँडामा जिल्लामै पहिलोपटक मह प्रशोधन केन्द्रको स्थापना गर्न लागिएको भन्दै जिल्ला कृषि विकास कार्यालयले जिल्लामा व्यावसायिक मौरी पालनमा लाग्नेलाई प्रविधिक सीप र अनुदानसमेत दिने जनाएको छ ।-कृषि

प्रकाशित मिति: शुक्रबार, अशोज ३, २०७१