शनिबार, बैशाख ८, २०८१

कुखुरामा अनौठो रोगको महामारी

भक्तपुर, ३ असोज । भक्तपुरका कुुखुरा फार्ममा बिक्रीका लागि तयारी हुन लागेका कुखुराहरू धमाधम मर्न थालेका छन् ।बर्डफ्लुको महामारीपछि पुनः सुरु भएको कुखुरापालन व्यवसायमा एक महिनादेखि रोगको महामारी फैलिएपछि व्यवसाय सङ्कटमा परेको कुखुरापालन व्यवसायी सङ्घका पूर्व अध्यक्ष लक्ष्मण ग्वाछाले बताउनुभयो ।उहाँले भन्नुभयो– “विगत एक महिनादेखि भक्तपुरका कुखुरा फार्ममा ब्रोइलर कुखुरामा पहिचान हुन नसकेको रोग देखा परेको छ, ३० देखि ३५ दिन पुगेको कुखुरा फार्ममै मर्न थालेपछि समस्या आएको छ ।”उहाँका अनुसार पालेको ४५ देखि ५० दिनमा बिक्री हुने कुखुरा ३५ दिन मै मर्न थालेपछि कुखुरा फार्ममा करिब ३० प्रतिशतका दरले कुखुरा मर्न थालेको छ ।
ग्वाछाले कुखुरा मर्नुअघि रानीखेत, कोलिवासिम, ढुसी, कोक्सिडोसिस जस्ता रोगका लक्षण देखिने तर कुन रोग हो भनेर अझै पत्ता नलागेपछि किसानहरू चिन्तामा परेको बताउनुभयो ।मरेका कुखुरा परीक्षणका लागि जिल्ला पशुसेवा कार्यालय र केन्द्रीय पशु अनुसन्धान केन्द्रमा लैजाँदा पनि अझै रोगको पत्ता नलागेको ग्वाछाले बताउनुभयो । यो रोग लागेपछि बाँचेका कुखुरको पनि तौल घट्दै जाने भएकाले किसानलाई थप समस्या आएको ग्वाछाको भनाइ छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, अशोज ३, २०७१