बिहिबार, फाल्गुन १७, २०८०

पूरै गाउँको आयस्रोत आलुखेती

बाबियाचौर (म्याग्दी), २ असोज । म्याग्दीको राम्चेका बासिन्दाले आलु खेतीलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् । राम्चेको ३ र ४ नम्बर वडाका बासिन्दाले व्यावसायिक आलु खेतीलाई पूरै गाउँको आयस्रोत बनाएका हुन् । राम्चे गाउँका १२० घरधुरीले ठूलोगाउँ, सिर्जना र सल्लेनीधारा कृषक समूहमा आबद्ध भई रासायनिक विषादी र मलको विकल्पमा जैविक प्रविधिबाट आलुखेती गरेका छन् । राम्चेबाट यसपालीको बर्खे मौसममा साढे रु ३१ लाख मूल्यबराबरको आलु निकासी भएको संयुक्त कृषक समूह राम्चेका अध्यक्ष भक्तबहादुर पुर्जाले बताउनुभयो । यस वर्ष एक लाख पाँच हजार किलो आलु पोखरा निकासी गरेर राम्चेका कृषकले ३१ लाख ५० हजार रुपैयाँ गाउँमा भित्र्याएका छन् । प्रतिकिलो ३० रुपैयाँका दरले आलु बिक्री गरिएको हो ।
चिसो हावापानीमा जैविक विधिबाट उत्पादन गरिएको आलु स्वादिलो एवम् गुणस्तरीय भएकाले व्यापारीले बारीबाटै खरिद गरेर लगेका कृषकले बताएका छन् । संयुक्त कृषक समूहका अध्यक्ष पुर्जाका अनुसार राम्चेमा यस वर्ष ३३१ मेट्रिकटन आलु उत्पादन भएकामा १०५ मेट्रिकटन आलु निकासी भएको हो । राम्चेको आलुको प्रवद्र्धनका लागि पाहुनालाई जैविक आलुको स्वाद चखाएर स्वागत गरी आलु नै कोसेली दिएर बिदाइ गर्ने गरिन्छ । देशका विभिन्न ठाउँमा बसोवास गर्ने आफन्त र पाहुनाहरूलाई कोसेलीका रूपमा यसवर्ष ४२ मेट्रिक टन आलु उपहार पठाइएको अध्यक्ष पुर्जाले बताउनुभयो । ३३ हजार ५०० किलो आलु बीउका रूपमा बिक्री गर्ने योजनामा रहेका छन् । निकासी गर्ने र गाउँमा बीउ लगाउने ८४ हजार किलोग्राम आलुको गुणस्तर कायम राख्न भण्डार गृहमा सुरक्षित भण्डार गरिएको छ ।

प्रकाशित मिति: बिहिबार, अशोज २, २०७१