बझाङ्ग,३१ भाद्र । मालुमेवा गाविस लिस्ताडा घर भएका ५० बर्षिय अम्मर बहादुर विष्ट हिजोआज बल्लापल्ला गाउँका खेतमा पहेंलिन थालेकाृे धान हेर्दै विह्वल हुन्छन् । बुवाजोदेखिको कमाई खाने खेत गतबर्ष र यसपाली सेती नदीमा आएको बाढीले बगाएपछि उनलाई खेतका धान फल्ने गराको झझल्को आउने गर्छ । अवका दिनमा केटाकेटीको पेट कसरी भर्ने भन्ने चिन्ताले पनि उत्तिकै सताएको छ । आफ्नो पुरै खेत भएको ठाउँमा अहिले सेती नदी बगिरहेका देख्दा उनी हे दुश्मन सेती, यस्तो के गदिइस् भनेर टाउकोमा हात बजार्ने गर्छन् ।
मालुमेला गाविस राउली र लिस्ताला गाउँका बासिन्दाको धान उत्पादन हुने मुख्य खेत भनेको लिस्ताडा जिउलो(खेत) नै हो । देउडा, विष्ट र सिंहको बसोबास रहेको यस गाउँमा विष्टको खेत बढी बगेको छ भने सिंह र देउडा परिवारले पनि खेत गुमाएका छन् । शुरुमा २०५७ सालको बाढीले केही बगाएको थियो । पछि आधा जिउलो गत बर्ष र वाँकी सवै यसपाली आएको बाढीले बगायो । पीडित अम्मले भने अव कसरी पेट पाल्ने भन्ने समस्या छ । उनको बगेको खेतबाट १८ मुरी धान उत्पादन हुन्थ्यो ।
लिस्ताडाको खेत खेतीले बगाउँदा अम्मरसँगै गिरी विष्ट, जयबहादुर सिंह लगायतका १० परिवारको उठिवास भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । – जगदीश रोकाया (अन्नपूर्ण)
Add Comment